पाठ-१४ म सडक बोल्दै छु

पाठ-१४

म सडक बोल्दै छु

१. अर्थ खुल्ने गरी वाक्य बनाउनुहोस्‌ :

(कवाज, भेल, फुल, शब्दहीन, अपेक्षा, पहिरो, साधन, छेकथुन, ताँती)

उतर:- 

कवाज – सैनिकहरू टुँडिखेलमा कवाज खेल्दै छन्‌ ।

भेल – अविरल वर्षाले सेती खोलामा भेल आयो ।

फुल – मलाई कुखुराको फुल खान मन लाग्दैन ।

शब्दहीन – साथीको आलोचना सुनेर म शब्दहीन भएँ ।

अपेक्षा – मसँग तिमीले सहयोगको कुनै अपेक्षा नगर ।

पहिरो – पहाड जाँदा मैले ठुलो पहिरो देखेँ ।

साधन – सवारी साधन नचल्दा जनताले दु:ख पाए ।

छेकथुन – मलाई व्यवसाय गर्नमा कुनै छेकथुन छैन ।

ताँती – कमिलाको ताँती देखेर सानो भाइ छक्कै पर्यो ।

 

२. शब्दकोशको सहायताले तलका शब्दहरूबाट पर्यायवाची शब्द लेख्नुहोस्‌: 

(“स्मृति, सौन्दर्य, उमेद, सम्झना, वजन, हेक्का, भरोसा, सुन्दरता, आशा, इच्छा, कारोबार, व्यापार, बोझ, लेनदेन, भार, कदापि, भारी)

उतर:- 

स्मृति – सम्झना, स्मरण, हेक्का

सौन्दर्य – शोभा, कान्ति, चहक, चमक

उमेद – आशा, अपेक्षा, लक्ष्य

सम्झना – स्मृति, स्मरण, सम्झाइ, याद

बजन – तौल, परिमाण

हेक्का – सम्झना, याद, स्मृति

भरोसा – भर, विश्वास, आड

सुन्दरता – राम्रोपन, आकर्षकता, रमणीयता, सौन्दर्य

आशा – इच्छा, अभिलाषा, धोको

इच्छा – चाहना, अपेक्षा, कामना

कारोबार – सरसापट, कारबार

व्यापार – किनबेच, खरिद बिक्री, वाणिज्य

बोझ – भार, भारी

लेनदेन – कारोबार, सापटी

भार – बोझ, भारी, लोड

कदापि – किमार्थ, कुनै हालमा

भरी – भार, बोझ

 

३. तलका प्रश्नको सङ्क्षिप्त उत्तर दिनुहोस्‌ :

(क) म सडक बोल्दै छु कविताको प्रारम्भमा मानिसको चरित्रलाई कुन रूपमा प्रस्तुत गरिएको छ!

उत्तर:- यस कविताको प्रारम्भमा मानिसको चरित्रलाई जिम्मेवारी बोध नगर्ने, उत्तरदायी नहुने र बेकामका रूपमा प्रस्तुत गरिएको छ । मान्छेहरू सडकमाथि बेपर्बाह गाडी कुदाउँछन्‌, त्यस्तै गरी हिँड्छन्‌ पनि । उनीहरू सडकमै चिप्लेटी र कवाज अनि गिर खेल्छन्‌ । रातदिन ताँती बाधेँर बेपर्बाही हिँड्छन्‌ तर सडकलाई माया गर्ने, बनाउने वा मर्मत संहार गर्ने काम गर्दैनन्‌ । यसरी कविताको प्रारम्भमा मानिसको चरित्रलाई गैर जिम्मेवार पात्रका रूपमा प्रस्तुत गरिएको छ ।

 

(ख) नेपालमा सडकले भोग्नुपरेका समस्या के-के हुन्‌?

उत्तर:- नेपालका सडकहरूले थुप्रै समस्याहरू भोग्नुपरेकी छ । नेपालका सडकमाथि मानिसहरू बेपर्बाह गुड्ने, कुद्ने र हिँड्ने काम गर्छन्‌ । यति मात्र होइन, चिप्लेटी, कवाज र गिर खेल्ने काम पनि गर्छन्‌ । रातदिन सवारी साधनको भार पनि सडकहरूले भोग्नु परिरहेको छ । साँघुरो बाटो भएकाले यात्रु बाहक बस र मालबाहक ट्रक आपसमा जुध्ने गर्छन्‌ । बाटामा जोगीमारा, नागढुङ्गा, कूर्लिनघाट, ओडारेभिर, लाङ्रे भिर, बाँदरे भिर जस्ता जोखिमपूर्ण भिर र पहरा छिचोल्दै सवारी साधनहरूलाई पार लगाउनुपर्ने समस्या पनि त्यत्तिकै ज्वलन्त रूपमा देखापर्छ । सडकलाई कहिले बाढीले डुबाउने गर्छ भने कहिले पहिरोले माथिबाट बगेर आई पुर्ने काम पनि गर्छ । पानी माटोले पुरिएर सडकको अवस्था बेहाल हुन्छ । सडकको कुनै दोष नभए पनि झुर,रदी भनी गाली गलौज समेत गर्छन्‌ । यस्ता कयौँ समस्याहरू सडकहरूले भोग्नुपरिरहेको यथार्थलाई यस कवितामा प्रस्तुत गरिएको छ ।

 

(ग) नेपालमा किन दिन प्रतिदिन सडक दुर्घटना बढ्दै छ?

उतर:- नेपालका बाटा एकातिर साँगुरा छन्‌ भन्ने मर्मत सम्भार नभएर भत्किएका र बिग्रिएका छन्‌ । साँगुरा अनि बिग्रिएका बाटामा सवारी साधन वेपर्वाह कुदाइन्छन । साँगुरा बाटामा यात्रु बाहक र माल बाहक ट्रकहरू एक आसपमा जुध्छन्‌ र ठुल्ठुला दुर्घटना पनि हुने गर्छन्‌ । जोगीमारा, ओडारे भिर, लाङरे भिर र बाँदरे भिर कोपेर बनाइएका साँगुरा अनि सडकबाट सवारी साधनहरू खस्ने गर्छन्‌ । नेपालका सडकलाई कहिले बाढीले डुबाउने गर्छ भने कहिले पहिरोले पुरिदिने काम गर्छ । यस्ता कैयौँ समस्याका कारण नेपालमा दिन प्रतिदिन दुर्घटना बढ्दै छ ।

 

(घ) पाठमा सडकले कुन-कुन कुरामा म जिम्मेवार छैन भनेको छ?

उतर:- पाठमा सडकले आफू धेरै कुरामा जिम्मेवार छैन भनेको छ । सवारी साधनलाई छेक्थुन गर्ने, यात्रु बाहक, माल बाहक ट्रक जुधाउने, ट्याङ्करले बसलाई पास नदिने, जोगीमारा, नागढुङ्गा, कर्लिनघात, ओडारे भिर, लाङरे भिर, बाँदरे भिरबाट सवारी साधन खसाल्ने, त्रासद मृत्यु निम्त्याउने जस्ता कुरामा सडकले आफू जिम्मेवार छैन भनेको छ ।

 

(ङ) सुरक्षित यात्राका लागि मानिसले के कस्ता कुरामा ध्यान पुर्याउनुपर्छ?

उतर:- सुरक्षित यात्राका लागि मानिसले धेरै कुरामा ध्यान पुप्याउनु पर्छ । सर्वप्रथम सडकलाई आफ्नै सम्पत्ति ठानी माया गर्नुपर्छ । यसलाई जथाभावी प्रयोग गर्नुहुन्न । यसको मर्मत सम्भारमा सधैँ ध्यान दिनुपर्छ । यात्रा गर्दा आफू कहिल्यै हतार गर्नु हुन्न । सवारी साधन चलाउँदा सडक र भूगोलको अवस्था हेरी चलाउनुपर्छ । सवारी चालकले गाडी चलाउँदा प्रतिस्पर्धाको भावना लिनु हुन्न । त्यस्तै सडक यात्रु, अरू सवारी चालकको अवस्था र सडकको अवस्थालाई समेत बुझी सवारी साधन चलाउनुपर्छ । सुरक्षित यात्राका लागि यिनै कुराहरूमा ध्यान दिन आवश्यक छ ।

 

४. सप्रसङ्ग व्याख्या गर्नुहोस्‌ :

(क) सर्प जस्तै सलल बगेर कसैलाई

तर्साउन सक्ने म होइन ।

उत्तरः- माथि दिइएका सारगर्भित तथा भावपूर्ण पङ्क्तिहरू कवि पारिजात (१९९४-२०५०) द्वारा लिखित म सडक बोल्दै छु शीर्षकको कविताबाट उद्धरण गरिएका हुन्‌ । वास्तविक नाम विष्णुकुमारी वाइवा भए पनि नेपाली साहित्यमा पारिजातका नामबाट चर्चित हुन पुगेकी यी स्रष्टाले नेपाली साहित्यका विभिन्न विधामा कलम चलाएर आफ्नो विशिष्ट प्रतिभाको परिचय दिएकी छन्‌ । कथा, कविता, उपन्यास जस्ता विधाहरूमा सशक्त रूपमा कलम चलाउने पारिजातले गद्य कविताका माध्यमबाट सामाजिक विसङ्गतिको सफल रूपमा चित्रण गरेकी छन्‌ । सडकले आफ्नो वास्तविक परिचय दिने क्रममा माथिका पङ्क्तिहरू कविले प्रस्तुत गरेको पाइन्छ ।

सडक लम्पसार परेर सुतेको हुन्छ । यसले सबैको सेवा गरिरहेको हुन्छ । मानिसको जस्तो अरूलाई दुःख दिने, झुक्याउने चरित्र यसको हुँदैन । सर्प जस्तै सलल बगेको भए पनि यसले सर्पको जस्तो रूप देखाउँदैन । सर्पले म्रानिसलाई ठुङ्छ, आक्रमण गर्छ, ठुङ्न भेटे सिध्याउने काम पनि गर्छ । अथवा सर्पले सलल बगेर अरूलाई तर्साइरहेको हुन्छ । सडकले आफू सर्पको जस्तै दुच्छर चरित्र नभएको बताएको छ ।

सडकले आफ्नो वास्तविक चरित्र बताउने सन्दर्भमा आएका यी पङ्क्तिमा सडकले मानिसभन्दा आफू फरक रहेको बताएको छ । मानिस अरूलाई दुःख दिनमा रमाउँछ भने सडकले अरूलाई दुःख दिने भन्दा परोपकार गर्ने काम गर्छ । आफू सर्प जस्तैः सलल बगेर कसैलाई दु:ख नदिएको आलङ्कारिक अभिव्यक्ति र उद्व लयात्मक एवम्‌  आकर्षक भाषाशैलीका माध्यमबाट सडकको महत्त्व र महिमालाई यहाँ प्रस्ट पारिएको छ ।

 

(ख) बेकाल मर्ने यतिका त्रासद मृत्युहरूको म जिम्मेवार छैन,

मलाई गाली नगर ।

उत्तरः- कवि पारिजात (वि.सं. १९९४-२०५०) द्वारा लिखित ‘म सडक बोल्दै छु’ शीर्षकको कविताबाट साभार गरिएको हो । परिजात नेपाली साहित्यकी एक चर्चित नारी प्रतिभा हुन्‌ । यिनले कथा, कविता र उपन्यास जस्ता विधामा विशिष्ट योगदान पुर्याएकी छन्‌ । आफ्ना कृतिहरूमा युगीन विसङ्गति र विकृतिको यथार्थ चित्रणका साथै विद्रोही भावना समेत मुखरित गर्ने पारिजातले माथिको कवितांशमा सडकले अनेक दुर्घटना हुनुमा आफू जिम्मेवार नभएको कुरा उल्लेख गर्ने क्रममा प्रस्तुत गरेकी हुन्‌ ।

नेपालका सडकहरू अत्यन्त जोखिमयुक्त छन्‌ । चट्टानहरू खोपेर बनाइएका साँगुरा सडकहरूको यात्रा गर्दा अनेक दुर्घटना हुने गर्छन्‌ । बाटाहरू एकातिर साँगुरा छन्‌ भने अर्कातिर मर्मत सम्हारका अभावमा क्षतिग्रस्त बनेका छन्‌ । यसले गर्दा यात्रुहरूले यात्रामा धेरै जोखिम व्यहोर्नुपर्छ । यात्रा गर्दा यात्रुहरूले अकालमा मर्नु पर्ने अवस्थामा सिर्जना भएका छन्‌ । यात्रामा अकल्पनीय दुर्घटनाहरू हुने गर्छन्‌ । त्यस बेला मानिसहरू बाटाको स्थिति वा बाटो बनाउनेलाई भन्दा बाटालाई गाली गलौज गर्छन्‌ । दुर्घटना हुनुमा बाटाको केही दोष छैन भन्ने कुरा उनीहरू बुझ्दैनन्‌ । त्यसैले त्रासद दुर्घटनाको दोष आफू नभएको यथार्थ कुरालाई सडकले यहाँ बताएको छ ।

जोखिमयुक्त सडकका कारण यात्रुहरूले त्रासद अवस्था बेहोर्नु परेको वास्तविकतालाई प्रस्तुत गर्ने क्रममा कविले सडक निर्दोष रहेको बताएका छन्‌ । सडकमा दुर्घटना हुनुमा सडक होइन,’सडक निर्माण गर्ने पक्ष नै प्रमुख हो । उसले सडकलाई फराकिलो, सहज बनाइदिने हो भने धेरै दुर्घटना बेहोर्नु पर्दैन । सडकभन्दा हाम्रो भूगोल अनि हाम्रो कार्यशैली नै दुर्घटनाको कारक बनेको यथार्थतालाई कविले गद्य लय तथा आकर्षक भाषाशैलीका माध्यमबाटयहाँ प्रस्तुत गरेको पाइन्छ ।

 

(ग) निर्दोष सडकलाई झुर, खत्तम र रद्दी भन्ने, मानवलाई तपाईँ के सल्लाह दिन चाहनुहुन्छ? आफ्नो प्रतिक्रिया लेख्नुहोस्‌ ।

उतर:- निर्दोष सडकलाई झुर, खत्तम र रद्दी भन्ने मानवलाई म सडकप्रति यस्तो पूर्वाग्रह नराख्न सल्लाह दिन्छु । सडक आफैँ झुर, खत्तम र रद्दी हुने होइन, जथाभावी प्रयोग गर्दा र यसको निर्माणमा ख्याल नगर्दा सडकको अवस्था कमजोर हुने गर्छ । तसर्थ, सडकलाई गाली गर्नुको सट्टा यसको निर्माण अनि सुरक्षा गर्न र जथाभावी प्रयोग नगर्न म मानवलाई सल्लाह दिन्छु । यसका साथै मानवलाई आफू सचेत प्राणी भएर पनि निर्जीव सडकलाई गाली गर्नुको कुनै तुक छैन । सडक त मानिसले बनाउने हो र मानिसले जथाभावी प्रयोग गर्दा बिग्रिने हो, त्यसकारण निर्दोष र निर्जीव सडकलाई गाली नगर्न पनि मानवलाई सल्लाह दिन्छु ।

 

५. पाठमा दिइएको कविताको मूल आशय के हो, विवेचना गर्नुहोस् ।

उतर:- प्रसिद्ध कथाकार, उपन्यासकार तथा कवि पारिजातद्वारा लिखित’म सडक बोल्दै छु’ एक चर्चित गद्य कविता हो । यस कवितामा कविले नेपालको सडकको अवस्था र नेपालीहरुको मानसिकता सटिक रूपमा चित्रण गरेको पाइन्छ । सडक स्वयम्‌ निर्जीव वस्तु हो तर कविले सडकलाई सजीवता प्रदान गरेर उसले भोग्नुपरिरहेका भौतिक तथा मानसिक अवस्थालाई सुक्ष्म रूपमा चित्रण गर्ने काम यहाँ गरिएको छ ।

सडक आफैँमा शान्त हुन्छ । गर्दैन । कसैलाई दु:ख दिने वा तर्साउने काम यसले गर्दैन । यो पहाड र चट्टानहरू ब्लास्टिङ गरी निर्माण गरिएको हुन्छ र यो निश्चल रूपमा रहेको हुन्छ ।यसका छातीमा मानिसहरू गुड्ने, कुद्ने, हिँड्ने मात्र  होइन, चिप्लेटी, कवाज र गिर खेल्ने काम गर्छन्‌ । मानिसहरू र सवारी साधनहरु ताँती लागेर सडकमाथि जथाभावी हिँड्ने, गुड्ने गर्छन्‌ ।, त्यस्तो बेला सडकलाई जतिसुकै सकस परे पनि ऊ कुनै प्रतिक्रिया जनाउँदैन । यात्रु बाहक बस र माल बाहक ट्रकहरू जथाभावी सडकमाथि कुदाउनाले दुर्घटना हुन्छन्, ट्रयाक्टरले बसलाई बाटो नछोड्दा उत्पन्न हुने समस्या पनि सडकले बेहोर्नुपर्छ । जोगीमारा, नाराढुङगा, कूर्लिनघाट जस्ता अनेक प्रकृतिका बाटाहरूका साथै यस अन्तर्गत, पर्ने ओडारे भिर लाङरे भिर र बाँदरे भिर आदि पर्दछन्‌ । यस्ता कैयौँ अक्करे भिरबाट सवारी साधनहरु खस्छन्‌ र अकालमा मानिसले त्रासद मृत्यु बेहोर्नुपर्छ । |

सडकलाई जीवनमा अनेक समस्याहरू आइ लाग्छन्‌ । कहिले सडक पानीले डुब्छ भने कहिले त्यसलाई पहिरोले पुरिदिने काम गर्छ । जति नै कष्ट बेहोर्नुपरे पनि सडकले मानिसको सेवा गरिरहेको हुन्छ । सडकलाई जोखिमपूर्ण बनाउने अनि दुर्घटना निम्त्याउने मानिस त्यही सडकलाई झुर, खत्तम र रद्दी भन्दै गाली गर्छ । आफूलाई कुखुराको गुलाबी फुल सम्झेर सुरक्षित घुमफिर गर्न खोज्ने मानिसलाई सडकले जसलाई सोध्नुपर्ने हो त्यसैलाई सोध्न भनी आग्रह गरेको छ ।

यसरी सडकको वास्तविक अवस्था, मानिसको सोचाइ र व्यवहार तथा जथाभावी सडकको प्रयोगले मान्छेले बेहोर्नु परेको त्रासद मृत्यु आदिलाई देखाउनु नै प्रस्तुत कविताको आशय रहेको पाइन्छ । सडकलाई गाली गर्नुका साटो त्यसको निर्माण र निर्माणपछि प्रयोग गर्दा अपनाउनुपर्ने सुरक्षा र मर्मत सम्भार जस्ता कुरामा समेत ध्यान दिन सचेत गर्नु नै यस कविताको मूल आशय हो ।