पाठः- २ सन्तुष्टि

सन्तुष्टि

१.कविताको ९ देखि १२ श्लोकबाट मुख्य-मुख्य बुंदा टिपी सार लेख्नुहोस् ।

उत्तरः 

(क) हाम्रा दुइटा आँखाले दुवैतिर हेर्नुपर्ने,

(ख) हाम्रा दुइटा कानले दुवैतिर सुन्नुपर्ने,

(ग) नाकका दुई प्वालले सुगन्ध र दुर्गन्ध छुट्याउनुपर्ने,

(घ) जिब्रोले मर्म जानेर एकै कुरा खोल्नुपर्ने ।

जीवन भोगाइका क्रममा हामीले सधैं सचेत भएर पाइला चाल्नुपर्छ । हाम्रा दुइटा आँखाले एकोहोरो नहेरी दुवैतिर हेर्नु बुद्धिमानी हुन्छ । त्यस्तै हाम्रा दुइटा कानले राम्रा नराम्रा दुवै कुरा सुन्ने बानी गर्नुपर्छ । नाकका दुइटा प्वालले सुगन्ध र दुर्गन्ध छुट्याउनु पर्ने र जिब्रोले मर्म कुरा जानेर सत्य कुरा मात्र बोल्नुपर्ने कुरा उत्तम मानिन्छ । हामीले जीवनमा यस्ता मार्मिक र सफलता प्रदान गर्ने कार्यको अनुशरण गर्यौँ भने कहिल्यै धोका खानु पर्दैनं र हामीलाई सम्मानित जीवन जिउन पनि सजिलो हुन्छ ।

 

२.तलका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस् :

(क) कवि के-के कुरामा टम्म र गम्म हुन्छन्?

उत्तर:- आफ्नो जीवनदेखि कवि सन्तुष्ट छन् । उनले एक पेट खान पाएका छन् । त्यसैमा उनी आफू टम्म भएको अनुभव गर्छन् । उनलाई भरे के खाने हो वा अर्को छाक कसरी टार्ने हो भन्ने कुनै चिन्ता छैन । त्यस्तै आफ्नो शरीरमा एकजोर लुगा लाउन पाएकोमा पनि कवि सन्तुष्ट देखिन्छन् । उनलाई नानाथरीका लुगा लगाउने सोख छैन । एकजोर लुगा लगाएर आफ्नो अङ्ग छोप्न पाए उनी गम्म पर्छन् । यसरी कवि एक पेट खान र एकजोर लाउन पाए टम्म र गम्म हुन्छन् ।

 

(ख) सीमा विलासको छैनभनाइको तात्पर्य के हो?

उत्तर:- अनेक दु:खकष्ट पार गर्दै मानिस आजको सुविधा सम्पन्न युगमा आइपुगेको छ । मानिसले आफ्ना जीवनमा चाहिने यावत् कुराहरू सञ्चित गरे पनि ऊ सन्तुष्ट देखिन्न । उसको असन्तुष्टिको कारण उसभित्र रहेको विलासिताको चाहना नै हो । विलासिताको मृगतृष्णा बोकेर हिँड्ने मानिसले त्यसलाई पूर्ण रूपमा कहिल्यै प्राप्त गर्न सक्दैन । आज एउटा उपलब्धि भए भोलि अर्को अनि पर्सि अझै उपलब्धि गर्ने चाहना मानिसका मनमा पलाउँदै जान्छन् । त्यस्ता उपलब्धिबाट विलासी जीवन जिउन सकिन्छ भन्ने भ्रममा मानिस परेको हुन्छ । अत: जति प्राप्त गरे पनि मानिस सन्तुष्ट हुँदैन भन्नु नै ‘सीमा’ विलासको छैन भनाइको तात्पर्य हो ।

 

(ग) कस्तो बानी भएको मानिसलाई मिजासिलो भनिन्छ?

उत्तर:- असल मिजास भएको, बोलीचाली वा  बानीबेहोरा राम्रो भएको मानिसलाई मिजासिलो भनिन्छ । असल मानिसले आफ्ना साथीहरू वा इष्टमित्रसँग कहिल्यै नराम्रो व्यवहार गर्दैन । वचन बिझ्ने बोली बोल्दैन । आफ्ना कुरा खुलस्त र स्पष्टसँग राख्छ र सबैसँग मित्रवत् व्यवहार गर्छ । यस्तो खुलस्त मानिसका मनमा पापको लेस मात्र पनि हुन्न । यसले गर्दा उसले जीवनमा कहिल्यै पछुताउनु पर्दैन । पछुताउनु पर्ने अवस्था खराब आचरणका कारण आउने गर्छ । त्यस्तो अवस्था मिजासिलो व्यक्तिका जीवनमा कहिल्यै आउँदैन । अत: असल, स्पष्ट वक्ता र सबैसँग खुलस्त भएर व्यवहार गर्ने मानिसलाई मिजासिलो भनिन्छ ।

 

(घ) दुवैतिर हेर्नुपर्छभन्नुको आशय के हो?

उतर:- प्रायः मानिस एकोहोरो सोचाइका हुन्छन्‌ । आफ्नो ब्रह्र्मले जे देख्यो त्यसलाई सत्य ठानेर अघि बढ्ने बानी बेहोरा मानिसको हुन्छ । यस्तो एकोहोरो प्रवृत्तिलि मानिसको जीवन सफल हुन सक्दैन । दायाँ बायाँ हेर्ने वा असल खराब छुद्याउने र अघि बढ्ने बानीले मात्र मानिस लक्ष्यमा पुग्न सक्छ । आफ्नै मात्र कुरा सही हो र अरूको कुरा केही होइन भन्नु गलत हो । जीवन गतिका क्रममा दुवै आँखाले नियालेर सत्य तथ्य पत्ता लगाई पाइला चाल्नु नै उत्तम हुन्छ भन्नु दुवैतिर हेर्नुपर्छ भन्नुको आशय हो ।

 

(ङ) नाक, जिब्रो, हात र पाउका काम के-के हुन्‌?

उत्तरः- प्रकृतिले हाम्रा इन्द्रियलाई फरक-फरक कामका लागि निर्धारित गरिदिएको छ । यिनले तोकिएअनुसार काम सम्पादन गर्छन्‌ । नाकले सुगन्ध र दुर्गन्ध चिन्ने काम गर्छ भने जिब्रोले मर्म बुझेर ख्याल गरी एकै कुरा बोल्छ र बोल्नु उत्तम मानिन्छ । त्यस्तै हात र पाउले सही कुरा पत्ता लगाई काम गर्ने हो । जथाभावी हात खुट्टाले काम गरेमा त्यसको प्रतिफल राम्रो हुन्न । अत: नाकले सुगन्ध र दुर्गन्ध, जिव्राले ख्याल गरी एकै कुरा बोल्ने र हात तथा पाउले ठिक कुरा पत्ता लगाई काम गर्नु नै यी अङ्गका मुख्य काम हुन्‌ ।

 

३.सन्तुष्ट हुन के-के गर्नुपर्दो रहेछ ? कविताका आधारमा लेख्नुहोस्‌ ।

उतर:- सन्तुष्ट हुन धेरै लालची हुनुहुन्न । आफूलाई उपयोग गर्न पुगे त्यसैमा रमाउन सक्नुपर्छ । एकपेट खान र एकसरो आँङ ढाक्ने कपडा भए त्यसैमा सन्तुष्ट हुनुपर्छ । सुत्नका लागि तीन हात जमिन र ओत्नका लागि झुपडी भए पुग्छ । स्वावलम्बी बन्ने र विलासको लालसा त्यागिदिने काम पनि गर्नुपर्छ । अरूसँग मिजासिलो व्यवहार गर्ने तथा अनैतिक रूपमा धन आर्जन नगर्ने र मिहिनेत. गरी इलमी बन्नेतिर लाग्नुपर्छ । नखाई धनसम्पत्ति सञ्चित गर्ने र लोभी नबन्ने, अर्काको भाग नखोस्ने, श्रमको फल भात्र खाने, आफ्नो भर आफैँ पर्ने, दुःखमा नआत्तिने र सुखमा नमात्तिने हो भने सन्तुष्ट हुन सकिँदो रहेछ । यसरी कविताका आधारमा हेर्दा जीवनमा सन्तुष्ट हुन मानिसले यस्ता थुप्रै व्यावहारिक कुराहरू गर्नुपर्दो रहेछ ।

 

४.व्याख्या गर्नुहोस्‌ :

(क) नआओस्‌ आत्तिने दुःख मात्तिने धन सम्पत्ति , यतिले राम्ररी चल्छ सारा जीवनको गति ।

उतर:- जीवनमा मानिसले सोचेजस्तो कहिल्यै हुन्न । मानिसका जीवनमा सुख मात्र होइन, दुःख पनि आइलाग्छ । त्यसैले जीवन भनेकै सुखदु:खको सम्मिश्रण हो भन्ने गरिन्छ । जीवनको यही वास्तविकतालाई माथिका पङ्क्तिमा उल्लेख गरिएको छ्‌ ।

कविका अनुसार जीवनमा आत्तिने दु:ख कहिल्यै नआओस्‌ । कुनै दु:ख आए पनि आत्तिनु हुन्न र त्यसलाई घैर्यताका साथ समाधान गर्दै लैजानु पर्छु । त्यस्तै कवि जीवनमा मात्तिने धन सम्पत्ति पनि नआओस्‌ भन्ने चाहन्छन्‌ । मानिसलाई धन सम्पत्तिले अन्धो बनाउँछ । धन सम्पत्ति धेरै भएमा मानिस अनैतिक काम गर्ने प्रवृत्त हुन सक्छ । त्यसले मान्छेलाई सम्मानित जीवन होइन, अपमानित भएर बाँच्न बाध्य बनाउँछ । त्यसैले कवि मात्तिने धन सम्पत्ति पनि नआओस्‌ भन्ने चाहन्छन्‌ । जीवनको गति सामान्य अवस्थामा चलेझैँ आफ्नो पनि त्यही रूपमा चलोस्‌ भन्ने कविको इच्छा रहेको छ ।

निश्चित रूपमा मानिस दु:ख आइलाग्दा स्वभावैले आत्तिने गर्छ । त्यस्तै सोचेभन्दा बढी धन सम्पत्ति आएमा पनि उ मात्तिने गर्छ । यस्ता दुवै कुरा जीवनमा नआउन्‌ र जीवन सहज रूपमा चलिरहोस्‌ भन्ने कविको सरल तर महत्त्वपूर्ण चाहना उक्त पङ्त्तिमा व्यक्त गरिएको छ ।

 

(ख) पृथ्वी तल नै स्वर्ग जनता नै जनार्दन , उपकार सदा पूजा फल हो दुःख मोचन ।

उतर:- मानिसका लागि पृथ्वी नै स्वर्ग हो, । उसले यही धर्तीमा स्वर्गीय आनन्द प्राप्त गर्दछ । असल काम, उपकारमा प्रवृत्त हुनु दु:खबाट मुक्तिको चाहना राखी जीवनमा अधि बढ्नु आवश्यक छ भन्ने विचारलाई माथिका पड्क्तिमा प्रस्तुत गरिएको छ ।

मानिसले आनन्द प्राप्त गर्न अर्को कुनै पृथ्वीको कल्पना गर्नु पर्दैन । मानिसले यही घर्तीमै आनन्द प्राप्त गर्न सक्छ र उसले चाहेको परम स्वर्गीय सन्तुष्टि उपभोग गर्नबाट कसैले रोक्न सक्दैन । धर्तीमा बस्ने जनता नै जनार्दन वा ईश्वर हुन्‌ । कविका अनुसार ईश्वर नै जनता हुन्‌ । उनीहरूमा असलपनको पहिचान गर्न सक्नुपर्छ । यस्तो रहस्यमय कुरा बुझेर सदा उपकारमा लाग्ने र पूजाआराधना गर्ने हो भने मानिसले दु:खबाट मुक्ति पाउँछ । त्यसैले मानिसले असल कर्मबाट मुक्तिको फल प्राप्त गर्ने बाटो रोज्नु आवश्यक छ ।

हाम्रो यो धर्ती र यस धर्तीमा बस्ने मानव आफैँमा महान्‌ हुन्छन्‌ । यिनको महत्व र गरिमालाई मनन गरी अघि बढ्न सक्ने र तदनुरूपको व्यवहार र आचरण गरे मानिसले कहिल्यै दु:खी हुनु पर्दैन भन्ने आशयलाई कविले माथिका पङ्क्तिमा प्रस्तुत गरेका छन्‌ ।

 

५. लैङ्गिक समानताशीर्षकमा एउटा अनुच्छैद रचना गर्नुहोस्‌ ।

लैङ्गिक समानता

स्त्री र पुरुषका बिच कुनै प्रकारको विभेद वा असमानता नरहेको अवस्थालाई लैङ्गिक समानता भनिन्छ । स्त्री र पुरुषका बिच सुझबुझ, त्याग र सहकार्यको संस्कृति समाजमा कायम गर्नु र दुवैलाई बिना भेदभाव हरेक क्षेत्रमा समान अवसर प्रदान गर्ने वातावरण सिर्जना गर्न सकेका खण्डमा घर परिवार, समाज र राष्ट्रको समुन्नति हुने कुरामा दुई मत छैन्‌ । आजको विकसित युगमा आइपुग्दा समेत कतिओटा देशमा स्त्री र पुरूषका बिच ठुलो विभेद गर्ने गरेको पाइन्छ । यसले गर्दा हिंसाका घटनाहरू प्रशस्त घट्ने गरेका छन् । हरेक गतिविधिमा पुरुषहरूको एकछत्र उपस्थिति हुँदा महिलाहरुले आफूलाई कमजोर ठान्ने र कुनै पनि नेतृत्व तहमा आउन नसक्ने अवस्था सिर्जना हुन्छ । प्रशासन राजनीति उद्योग, कलकारखाना, राष्ट्रसेवा आदि अनेकौँ क्षेत्रमा पुरुषहरूको मात्र अस्तित्व रहनु युगीन विशेषता नै बनेको छ । यति मात्र होइन, धर्म, संस्कृति, रीतिरिवाज र परम्परामा पनि पुरुष प्रधान मानसिकता हाबी भएका कारण समाजमा धेरै समस्या देखिने गरेका छन्‌ । यस्ता समस्याहरूको समयमै  कानुनी उपचार गरी व्यवहारमा उतार्न सके हामीले कल्पना गरेको भविष्य सुनिश्चित हुन्छ । साँच्चै भन्ने हो भने लैङ्गिक समानताविना अबका दिनमा समाजको गति नै अघि बढ्न नसक्ने निश्चित छ ।

 

6. ‘मेरो सपनाहरूभन्ने शीर्षकमा सर्वप्रथम बुँदाहरू टिपोट गर्नुहोस्‌ । ती बुँदालाई निबन्धका रूपमा लेख्नुहोस्‌ ।

उतर:- बुँदाहरू

क) मेरा सपना थुप्रै रहेका र तिनले नेपालको रमणीय सुदूर भविष्यको चित्र कोरेका,

ख) मेरा सपनामा नेपालमा विकासको राजनीति प्रमुख रूपमा हुने,

ग) मेरा सपनाले नेपालमा शिक्षाको ज्योति फैलाउने रहेको,

घ) मेरा सपनाले भविष्यमा वीर वीराङ्गानाले जन्म लिने,

ङ) मेरा सपनामा भविष्यमा श्रम सम्मान हुने, प्रशासन र राज्यव्यवस्था चुस्तदुरुस्त हुने,

च) मेरो सपनामा नेपाल भविष्यमा आत्मनिर्भर हुने ।

मेरो सपनाहरू

-हरेक मानिसका आ-आफ्नै प्रकारका सपना हुन्छन्‌ । मेरा पनि आफ्नै प्रकारका सपनाहरू छन्‌ । मेरा सपनाहरूले नेपालको सुदूर भविष्यको रमणीय र सुन्दर तथा समृद्ध चित्र कोर्ने काम गरेक छन्‌ । मेरा सपनाहरू साकार भएका खण्डमा नेपालको सुदूर भविष्य सुन्दर, शान्त र समृद्ध बन्ने कुरामा कसैको दुई मत रहन्न ।

देशको राजनीतिले हरेक कुरालाई प्रभावित पार्ने गर्छ । अंत: मेरो सपनाको नेपालम बिकासका लागि राजनीति हुनेछ । राजनीतिक विसंङ्गति र विकृतिहरूलाई डाँडो कटाइनेछ । गणतन्त्र बाँदरका हातमा नरिवल जस्तो हुन दिइने छैन । जनताको आस्था र बिश्वास जितैर निर्वाचित प्रतिनिधिहरू व्यक्तिगत चिन्तन अनि सोचको गर्तबाट माथि उठैर स्वच्छ राजनीति र राष्ट्रिय विकासका अभियानमा लाग्ने छन्‌ । असल कामको सम्मान र खराब कामका लागि कडा सजायको व्यवस्था हुनेछ । त्यसैले मेरा सपनाको नेपालमा एउटा स्वच्छ, पवित्र एवम्‌ राष्ट्रिय हितका लागि बिकासको राजनीति हुनेछ । भविष्यमा गएर नेपालले अशिक्षा र अज्ञानताको कुहिरोमा रुमल्लिनु नपर्ने मेरा सपनाहरू छन्‌ । अधिकांश नेपालीहरूको घर आँगनमा चेतनाको मिर्मिरे झुल्किनेछ र सर्वत्र ज्ञानको ज्योति चम्किनेछ । प्राविधिक शिक्षाको आर्जनबाट राष्ट्रनिर्माणमा प्रशस्त टेवा पुग्ने वातावरण सिर्जता गरिनेछ । थोत्रा प्रमाणपत्रहरू बोकी रोजगारीको भिक्षा माग्ने वातावरणको अन्त्य गरिनेछ ।

आज मेरो देशले आफ्नै साख गुमाउँदै गएको छँ । राष्ट्रियतामाथि पराइले धावा बोल्दा चुँ बोल्ने नसक्ने वातावरणमा हामीहरू बाँच्न बाध्य भएका छौँ । मेरा सपनाको भविष्यमा वीर वीराङ्गानाले जन्म लिनेछन्‌ र देशको साख जोगाउनेछन्‌ । आज नेपालमा अनैक विभेद छन्‌ । लैङ्गिक, वर्गीय, जातीय, क्षेत्रीय तथा भाषिक विभेदले ‘मेरौ देश आक्रान्त बनेको छ । मेरा सपनामा यी तमाम विभेदको अन्त्य ‘हुनेछ र श्रमको सम्मान गर्ने परिपाटी विकसित हुनेछ । त्यस्तै राज्यको प्रशासन र व्यवस्था चुस्त, दुरुस्त हुनुका साथै जनताले न्याय पाएको अनुभूति गर्न पाउने छन्‌ ।

मेरा सपनाहरू नेपालको भविष्यसँग जोडिएका छन्‌ । सपना भन्नेबित्तिकै तिनमा काल्पनिकताको गन्ध आउने भए पनि तिनलाई साकार पार्न आफू मात्र होइन सारा नेपालीलाई परिचालित गर्नेछु र मेरा सपनाहरू साकार भई नेपाल साँच्चिकै सुन्दर, “शान्त र समृद्ध बनाएरै छाड्ने कुरामा म विश्वस्त छु ।