एकाई:-६, पाठ:-३ औद्योगिक क्रान्ति

एकाई-६, पाठ-३

औद्योगिक क्रान्ति

अभ्यास

1.  औद्योगिक क्रान्तिले विश्वमा पारेको प्रभावहरूको बुंदागत रूपमा व्याख्या गर्नुहोस् ।

उत्तर:- औद्योगिक क्रान्तिले विश्वमा ठूलो प्रभाव पर्यो । यस्को प्रभाव राजनैतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा समेत पर्यो। औद्योगिक क्रान्तिका प्रभावहरू यसप्रकार छन्:

i) उद्योगको स्थापना:- औद्योगिक क्रान्तिले गर्दा हातबाट बन्ने वस्तुहरू उद्योगबाट बन्न थाले । यसबाट सामानको गुणस्तर राम्रो भयो । उत्पादित वस्तुको माग बढेकाले उद्योगहरूको स्थापनामा वृद्धि भयो । बेलायतबाट सुरु भएको उद्योग र औद्योगिक क्रान्ति युरोपका अन्य मुलुक हुँदै विश्वभरि नै फैलियो।

ii) पूँजीवादको उदय:- उद्योगहरूको स्थापनाका लागि पूँजीको आवश्यकता पर्ने भएकोले पूँजीवादको उदय भयो । समाजमा पूँजीपतिहरूको मान्यता बढ्यो । पूँजीपतिहरूले उद्योगहरूको स्थापनामा पूँजी लगानी गर्ने हुँदा पैसाले अझ पैसा कमाउन थाल्यो।

iii) सहरीकरण:- उद्योगहरूको स्थापना भएपछि मानिसहरूको वस्ती पनि उद्योग छेउछाउनै विकसित हुँदै गयो। यस्ता ठाउँमा व्यापार बढ्ने भयो। रोजगारीको अवसर उपलब्ध हुने भयो । दैनिक आवश्यक वस्तुको उपलब्धिमा सहज भयो । यसैले गाउँतिर जनसङ्ख्या घट्न थाल्यो, सहरतिर बसाईसराई बढ्न थाल्यो।

iv) महिला श्रमिकको शोषण:- पुरुष श्रमिक जस्तै महिला श्रमिकहरूले पुरुष सरह काम गर्न सक्दैनन् भनेर पुरुष श्रमिकभन्दा महिला श्रमिकलाई ज्याला कम दिएर महिला श्रमिकको शोषण गरियो ।

v) जीवनशौलीको स्तरवृद्धि:- औद्योगिक कामदारहरूको आय पनि बढ्यो । सहरीकरण बढ्यो । साथै नयाँ नयाँ आविष्कारहरूले मानिसहरूको सुखसुविधामा वृद्धि गर्यो । ग्रामीण समाजमा रहेका मानिसहरू सहरमा बस्न थालेपछि उनीहरूको जीवनशैलीमा परिवर्तन आयो ।

vi) प्रविधिको विकास:- औद्योगिक क्रान्तिले अझ नयाँ नयाँ आविष्कारका लागि प्रोत्साहन गर्यो । यातायातको साधनको विकास भयो । अन्य महादेशसँग व्यापारिक सम्बन्ध बढ्यो । उपनिवेश स्थापित भए । व्यापारको विकास तथा साम्राज्य स्थापना गर्ने प्रकृतिले गर्दा नया प्रविधिहरूको विकास हुन थाल्यो।

vii) भौतिकवाद र उपयोगवादको वृद्धि:- ग्रामीण समाजका मानिसहरू धर्मबाट डराउने गर्थे । समाजमा सबैसँग मिलेर बस्ने, अनैतिक काम गरे परलोकमा दुःख पाइन्छ भन्ने मानिसहरूमा विश्वास थियो । औद्योगिक क्रान्तिले गर्दा मानिसहरूको विचारमा पनि परिवर्तन आयो । पूँजीपतिहरूको विलासी जीवनले धनको महत्त्व बढायो । परलोकको डर हरायो । धन सङ्ग्रह गर्ने र सुखी जीवन बिताउने भन्ने भावना प्रवल भयो । मरेपछि डुमैराजा भन्ने भावना विकसित भयो । यसकारण सुख सुविधाहरूका लागि नयाँ नयाँ कुरा खोजी गर्ने तथा यी वस्तुहरू हाम्रो उपयोगका लागि हुन् भन्ने विचार विकसित भयो।

viii) साम्राज्यवाद र मार्क्सवादको उदय:- औद्योगिक क्रान्तिले बजारको आवश्यकता महसुस गरायो । युरोप देशहरूले अफ्रिका, उ.अमेरिका, द. अमेरिका, एसियाका कम विकसित मुलुकहरूमा उपनिवेश स्थापित गरे । ब्रिटिसले अफ्रिका तथा कतिपय अन्य देशहरू जस्तैः भारत, बर्मा, श्रीलङ्का, अफगानिस्तान, चीनका केही पूर्वी भागहरू र उत्तर अमेरिकामा विशाल साम्राज्य स्थापित गयो । पोचुर्गलले पनि भारतको केही ठाउँमा कब्जा गर्यो । त्यस्तै डचहरूले पनि एसियामा केही देशमा उपनिवेश कायम गर्यो। उपनिवेशबाट कोरा मालको आयात, उत्पादित वस्तुको बजार तथा देशका मानिसहरूलाई रोजगारीको अवसर प्राप्त हुने, आफ्नो शासन पद्धति अन्यत्र लागू गर्ने आदि लाभ भयो । उद्योगहरूमा मजदुरहरूको शोषण हुन थाल्यो । मजदुरहरूको दयनीय अवस्था देखेर यसलाई निराकरण गर्न मार्क्सवादले आफ्नो विचारधारा कम्युनिष्ट मेनिफेस्टो र दास क्यापिटल पुस्तकमार्फत्  बाहिर ल्याए । उनले साम्यवादी विचारधाराको प्रचार गरे।

ix) प्रदूषण र वातावरणको विनास:- उद्योगहरूको विकासले प्राकृतिक वातावरणमा प्रभाव पार्यो । उद्योगहरूबाट निस्केका धुंवा तथा रसायनले वायु प्रदूषण बढायो । उद्योगको स्थापनाका लागि वन फडानी भए । सडक तथा रेल बनाउन जङ्गल मासियो । यसबाट वायु प्रदूषण अझ बढ्यो । उद्योगका फोहोरमैला खोलानाला, नदीमा मिसाइएकाले जलप्रदूषण बढ्यो । यातायात बाहनको चर्को आवाज र उद्योगहरूको चर्को आवाजले ध्वनि प्रदूषण बढ्यो । यी प्रदूषणहरू तथा नदीजन्य पदार्थहरूको अवैज्ञानिक प्रयोगले प्राकृतिक वातावरणमा ह्रास आयो। यसले अनावृष्टि, अतिवृष्टि, रोगव्याधिको प्रकोपका साथै जलवायुमा प्रतिकूल प्रभाव परेको देखिन्छ ।

 x) धन र शक्तिको पलायन:- औद्योगिक क्रान्तिले गर्दा उपनिवेश स्थापना कार्य बढ्दै गयो । युरोपीय देशहरूले धर्मको आडमा पनि उपनिवेश स्थापना गर्ने बाटो देखे । ईसाइ धर्मको प्रचार बढाइयो ।अफ्रिकामा ईसाइ धर्मको प्रचार गर्दै उनीहरूको देशलाई उपनिवेश बनाइयो । साम्राज्य स्थापनाका लागि कतिपटक युद्ध पनि भयो । क्यानाडाका लागि फ्रान्स र बेलायत बिचमा युद्ध भयो । फ्रान्स पराजित भयो र क्यानडामाथि गोराहरूको अधिपत्य भयो । भारतमा कर्नाटकको युद्ध पछि फ्रान्सको व्यापारमा कमी भयो र बेलायतको एकलौटी व्यापार कायम भयो । उपनिवेशबाट धन साम्राज्यवादी देशहरूमा पुग्यो । यसरी नै भारतबाट कोहिनुर हिरा बेलायत पुर्याइयो । परम्परागत समाजमा जमिन्दारसँग जमिन बढी थियो । उनीहरूको समाजमा मान्यता थियो । औद्योगिक क्रान्तिले उद्योगको महत्त्व बढायो। उद्योगपति रोजगारदाता भए । पूँजी उनीहरूसँग आयो । समाजमा पूंजीपतिहरूको हालीमुहाली चल्यो।

2.  उपनिवेशको सुरुआत र औद्योगिक क्रान्तिको सम्बन्ध उल्लेख गर्नुहोस् ।

उत्तर:- औद्योगिक क्रान्तिले साम्राज्यवादलाई प्रोत्साहन गर्यो । उद्योगधन्दाको विकास युरोपीय देशहरूमा भएको थियो । यसको सुरुवात बेलायतबाट भयो । सुती कपडाबाट सुरु भई अन्य उद्योगहरूको पनि स्थापना हुँदै गयो । युरोपमा कपास फल्दैन । उद्योगका लागि निरन्तर कपासको आवश्यकता थियो । भारत तथा अफ्रिकी देशहरूबाट कपास ल्याउनुपर्थ्यो । उद्योगहरूलाई उत्पादन बेच्ने समस्या आयो । यसका लागि बजारको आवश्यकता पर्यो । यसैले युरोपका देशहरूले अब कम विकसित देशहरूमाथि आँखा लगाउन थाले । बेलायतले सबैभन्दा पहिले अफ्रिकामा उपनिवेश स्थापना गर्यो। यसपछि अन्य देशहरू पनि आए । जति धेरै उपनिवेश उति बढी मात्रामा कोरा मालको प्राप्ति र उत्पादित वस्तु बेच्न बजारको सुविधा हुने । यी प्रमुख कारणले गर्दा उपनिवेश स्थापनाको सुरुआत भयो । बेलायतले एसिया, अफ्रिका तथा अमेरिकी महादेशमा साम्राज्य स्थापना गर्यो । फ्रान्स, पोचुर्गल, डच आदि देशहरू पनि यसका पछि लागे । उपनिवेशको प्राकृतिक सम्पदाको उपयोग गरी आफ्नो देशका उद्योग चल्ने भए । देशका जनतालाई रोजगारीको अवसर प्राप्त भयो। यसबाट आर्थिक लाभ प्राप्त भयो । उपनिवेशबाट सस्तोमा श्रम शक्तिको प्राप्ति भयो । उपनिवेशहरूबाट सस्तो मजदुरहरूको प्राप्तिले उद्योग चलाउन कठिनाई भएन । औद्योगिक क्रान्तिले युरोपीय देशहरूलाई सम्पन्न बन्न ठूलो मद्दत मिल्यो।

This Post Has 2 Comments

    1. Bipin

      Horw

Leave a Reply