एकाई-५, पाठ-३:- विश्वका भौगोलिक विविधता र जनजीवन

पाठ-३

विश्वका भौगोलिक विविधता र जनजीवन

 

अभ्यास

1.  कारण दिनुहोस् :

(क)  मलेसियामा धेरै गर्मी र दैनिक वर्षा हुन्छ ।

उत्तर: मलेसिया भूमध्यरेखीय क्षेत्रमा पर्छ । यहाँ सालभर सूर्यको प्रकाश लम्बरुपले पर्छ । त्यसैले त्यहाँ सालैभर गर्मी हुन्छ । सालैभर गर्मी हुने हुँदा वाष्पीकरण पनि भइरहन्छ । त्यसैले त्यहाँ सालैभर वर्षा हुन्छ ।

(ख)  मरुभूमि क्षेत्रमा ऊँट पालन गरिन्छ ।

 उत्तर: ऊँटको खुट्टा लामो हुन्छ । यसको खुट्टा बालुवामा भाँसिदैन । ऊँट पानी नपिइकन पनि ३/४ दिन रहन सक्छ । यसका लामालामा आखीभौँले मरुभूमिमा चल्ने हुरीबाट आखालाई जोगाउँछ । ऊँटलाई मालसामान बोक्न र सवारीका लागि प्रयोग गरिन्छ । मरुभूमिमा रहने मानिसहरुले ऊँटको दूध पनि प्रयोग गर्छन् । त्यसैले मरुभूमिमा ऊँट पालन गरिन्छ ।

(ग)  समुद्री किनारमा ठुला सहरहरू रहेका छन् ।

उत्तर: समुद्री किनारको हावापानी रम्य हुन्छ। त्यहाँ बढी गर्मी पनि हुँदैन । त्यहाँ बढी जाडो पनि हुँदैन । समुद्रले विदेशी व्यापारमा जल यातायातको रूपमा सहयोग गर्छ । समुद्रमा प्रशस्त माछा मार्ने काम गरिन्छ। यसकारण समुद्री किनारमा ठूला ठूला सहरहरूको विकास भएको छ ।

 

(घ)  इटली र ग्रिसमा फलफूल खेती गरिन्छ।

उत्तर: इटली र ग्रिस भूमध्यसागरीय प्रदेशमा पर्छन् । यी दुवै देश भूमध्यसागरका छेउछाउमा छन् । यहाँ गर्मीमा सुक्खा र न्यानो हुन्छ । हिउँदमा ठण्डा र वर्षा हुन्छ । यो हावापानी अमिलो तथा रसिलो फलफूल उत्पादनका  लागि योग्य हुन्छ । त्यसैले त्यहाँ सुन्तला, अंजीर, अङ्गुर जस्ता फलफूलहरू उत्पादन हुन्छ ।

 

(ङ)  हिमाली र पहाडी क्षेत्रका मानिसहरू तराई र बेंसीतर्फ झरिरहेका छन् ।

उत्तर: हिमाली र पहाडी भूभाग होचो अग्लो हुन्छ । यहाँ खेतीका लागि राम्रो मलिलो माटो कम पाइन्छ । बाटोघाटो बनाउन कठिन र खर्चिलो छ । वर्षायाममा बाढीपैरोको प्रकोप भइरहन्छ । यहाँ शिक्षा, स्वास्थ्य, उद्योग, व्यापार आदिको विकास कम मात्रामा भएको छ । बढी परिश्रम गरी जीवन यापन गर्नुपर्छ । मैदानी र बेंसीतर्फ माटो मलिलो भएको कारण खेतीपाती हुन्छ । खाद्यान्नको कमी हुँदैन । बाटोघाटोको सुविधा छ । उद्योग व्यापारको पनि विकास हुन्छ । यहाँ शिक्षा, स्वास्थ्य आदिको विकास भएको छ । यहाँको जीवन सुगम छ । त्यसैले हिमाल र पहाडतिरका मानिसहरू तराई र बेंसीतिर झरिरहेका छन् ।

(च)  गाउँ र सहरबिच अन्योन्याश्रित सम्बन्ध छ।

 उत्तर: गाउँ र सहरबिच अन्योन्याश्रित सम्बनध छ । गाउँ र सहर एकअर्काका पूरक हुन् । गाउँमा खेतीपाती गरिन्छ । खाद्यान्न, फलफूल, सागपात आदि फल्छ । उखु, जुट, चिया आदिको उत्पादन हुन्छ । सहरबजारछेउ उद्योगहरू रहेका हुन्छन् । सहरका मानिसहरूका लागि आवश्यक तरकारी, सागपात, खाद्यान्न गाउँवासीले पूरा गर्छन् । उद्योगलाई चाहिने कोरामाल गाउँबाट आउँछ । उद्योगमा काम गर्ने मजदुर गाउँबाट नै आउँछ । गाउँबासीलाई चाहिने लत्ताकपडा, औषधि तथा अन्य घरायसी सरसामान सहरले पूरा गर्छ । यसरी गाउँले सहरलाई पालेको छ भने सहरले गाउँलाई पालेको छ।

2.  विश्वमा किन एकै प्रकारको जनजीवन नभएको होला, कारणहरूको खोजी गर्नुहोस् ।

उत्तर:- विश्वमा सबै ठाउँका मानिसहरूको जीवनशैली फरक फरक छ । एस्किमोहरू हिउँको घरमा बस्छन् । शेर्पाहरू बक्खु लगाउँछन् । मासुको परिकार बढी खान्छन् । चियामा नुन र घिउ हाल्छन् । इटली, फ्रान्स आदि देशमा मानिसहरू बढी उद्यमी हुन्छन् । यहाँ प्रशस्त रक्सीका उद्योगहरू चलेका छन् । अमेजनवेंसीमा पिग्मीज फिरन्ते छन् र परम्परागत जीवनशैली अवलम्बन गरेका छन् । अरबका मानिसहरू जीउ छोपिन लुगा लगाउँछन्, दाह्री पाल्छन् । मुसलमान महिलाहरू बुर्का लगाउँछन् । मैदानी भागका मानिसहरू खेतीपाती बढी गर्छन् । गर्मी ठाउँका मानिसहरू खुकुला लुगा लगाउँछन् । बढी मानिसहरू शाकाहारी खाना खान्छन् । यी सबै फरक ठाउँअनुसारको भौगोलिक विविधताले गर्दा भएको हो ।

पहाडी प्रदेशमा बाटो घाटोको सुविधा हुँदैन । कृषि कम हुन्छ । यस कारण मानिसहरूले खेतीपातीका साथै पशुपालन व्यवसाय पनि गर्छन् । जीवन धान्न कठिन परिश्रम गर्नुपर्ने हुन्छ । त्यसैले उनीहरू फुर्तिला, आटिला हुन्छन् । मनोरञ्जन गर्न मेलापात जाने गर्छन् । स-सानो जमघट गरी नाचगान गरी मनोरञ्जन गर्छन् । तराईमा जीवन सुगम हुन्छ । यहाँ खाद्यान्नको कमी हुँदैन । बाटोघाटोको सुविधा हुन्छ । त्यसैले सवारी साधन प्रशस्त पाइन्छ । विभिन्न चाडपर्व गरी मनोरञ्जन गर्छन् । धार्मिक स्थानहरूमा समय समयमा मेला लाग्दछ । मरुभूमिमा दिउँसो गर्मी र राति चिसो हुन्छ । किनकि बालुवा चाँडै तात्छ र चाँडै चिसो हुन्छ । गर्मी र चिसो छल्न यहाँका मानिसहरू जीउ ढाक्ने लुगा लगाउँछन् । पुरुषहरू गर्मीबाट जोगिन दाह्री पाल्छन् । यसकारण धरातलको बनोट, हावापानी, उपलब्ध प्राकृतिक सम्पदा र सुविधा आदिले गर्दा मानिसहरूले बाँच्नका लागि सोही अनुसारको जीवनशैली अवलम्वन गर्नुपर्छ । त्यसैले विश्वमा एकै प्रकारको जनजीवन नभएको हो ।

3.  विश्वमा भौगोलिक अवस्था फरक परेका कारण मानवको आर्थिक क्रियाकलाप र जीवन शैलीमा पनि फरक परेको कुरा पाठमा जानकारी भयो । नेपालमा पनि विविध भौगोलिक अवस्था र मानवको जीवन शैली तथा आर्थिक क्रियाकलापमा फरक देखिन्छ । के यसमा भौगोलिक अवस्थाको भूमिका छ, कसरी, उदाहरणसहित पुष्टि गर्नुहोस् ।

 उत्तर: नेपालमा पनि हिमाली, पहाडी तथा तराइतिरका मानिसहरूको जीवनशैलीमा भौगोलिक अवस्थाले प्रभाव पारेको प्रष्ट देखिन्छ। शेर्पा, भोटे, मुस्ताङ्गी आदि हिमाली प्रदेशमा बस्छन् । यहाँको धरातल होचो अग्लो छ । हिउँदमा हिउँ पर्छ । यसैले यहाँका मानिसहरू जाडो छल्न बाक्लो ऊनी लुगा लगाउँछन् । बक्खु लगाउँछन् । चौरी, भेडा, च्याङ्ग्रा र घोडा पाल्छन् । मालसामान ओसार्न याक र घोडा प्रयोग गर्छन् । आउनजान घोडा प्रयोग गर्छन् । ‘शरीरमा स्फूर्ति रहोस् भनी चियामा नुन र घिउ हालेर पिउछन् । भेडा र च्याङ्ग्राको रौंबाट उनी कपडा तयार पार्छन् । चौरीको दूधबाट छुपी र चीज तयार गरिन्छ । पहाडी धारतलमा हिड्डुल गरी रहनुपर्ने हुनाले यिनीहरू पहाड चढ्न सिपालु हुन्छन् । जाडो छल्न हिउँदमा अलि गर्मी ठाउँतिर झर्छन् ।

पहाडी प्रदेशको धरातल पनि होचो अग्लो भूभागले बनेको छ । यहाँ गर्मीमा बढी गर्मी हुँदैन तर हिउँदमा केही जाडो हुन्छ । यहाँ मगर, गुरुङ, राई, लिम्बू, क्षेत्री, बाहुन आदि जातिका मानिसहरूको बसोबास छ । यहाँका मानिसहरू दौरा सुरुवाल, कोट, टोपी र पटुका लगाउँछन् । पटुकामा खुकुरी भिड्छन् । महिलाहरू सारी चोलो पटुका मजेत्रो लगाउँछन् । किराती महिलाले खुर्पा पनि बोक्छिन् । यहाँका मानिसहरूले जीवन धान्न खेतीपातीका साथै गाईवस्तु, भेडाबाखा आदि पाल्छन् । कठिन भौगोलिक धरातलमा जीवन धान्नुपर्छ । डोकोमा पानी होस् वा सामान होस् बोकेकै हुन्छन् । घासपात काटेर पशुभाउ पाल्नुपर्छ । ठूला बजार जताततै हुँदैन । यसैले आवश्यक वस्तु खरिद बिक्री गर्न पहाडी क्षेत्रमा हाट लाग्ने प्रचलन छ । काम गर्न ताकत चाहिने तथा कठिनाईलाई विर्सनका लागि मासांहारी खाना बढी प्रयोग हुन्छ ।

तराईमा गर्मी बढी हुन्छ । वर्षायाममा प्रशस्त वर्षा हुन्छ । माटो मलिलो हुन्छ । यसैले यहाँ वर्षे बाली र हिउँदे बाली लगाइन्छ । पुरुषहरू धोती पाइजामा कमेज जस्ता खुकुलो लुगा लगाउँछन् । महिलाहरू साडी चोलो लगाउँछन् । यसबाट गर्मी छल्न सजिलो हुन्छ । खेतीपातीमा लाग्नु परेकोले खेतीबाट फुर्सद भएको मौकामा चाडपर्व मनाउने गर्दछन् । शाकाहारी खाना बढी प्रयोग हुन्छ । तराईमा आवतजावत गर्न सजिलो हुन्छ किनकि समतल जग्गा छ, खाद्यान्नको अभाव हुँदैन । यसैले मानिसहरूलाई बढी परिश्रम गर्नुपर्दैन ।  यसरी नेपालमा पनि मानिसहरूको जीवनशैलीमा भौगोलिक अवस्थाको प्रभाव परेको देखिन्छ ।

 

4.  भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध एवम् पहुँच र सहजतामा असर गर्दछ, किन ? कारण दिनुहोस् ।

 उत्तर: पहाड, तराई, नदीनाला, छाँगो, जाडो, गर्मी, वेंसी, मरुभूमि, बनजङ्गल आदि भौगोलिक विविधताका उदाहरणहरू हुन् । यातायातका साधनको विकास तथा सञ्चार साधनको विकासले क्षेत्रीय तथा प्रादेशिक अन्तरसम्बन्ध तथा पहुँच र सहजतामा प्रभाव पार्छ । यातायातका साधन जस्तै; सडकमार्ग, जलमार्ग, हवाई मार्ग, रेलमार्ग आदिको विकास भएको छ भने एक ठाउँबाट अर्को ठाउँमा सहजै जान सकिन्छ । यसबाट सो स्थानको पहुँचमा सहजता हुन्छ । यातायातका साधनको विकासले क्षेत्रीय तथा प्रादेशिक सम्बन्ध स्थापना गर्न पनि सहज हुन्छ । यातायातको विकासले सञ्चार साधनको विकासमा मद्दत पुयाउँछ । टेलिफोन, रेडियो, टेलिभिजन, मोबाइल फोन आदि प्रयोगका लागि ठाउँठाउँमा टावर सहजरूपमा स्थापित गर्न सकिन्छ । तराई समतल क्षेत्र भएकोले यातायातको साधनहरूको विकास गर्न सकिन्छ । यसबाट सञ्चारको साधनको पनि विकास हुन्छ । यसरी क्षेत्रीय तथा प्रादेशिक अन्तर सम्बन्ध  स्थापना गर्न सहज हुन्छ।

पहाडी क्षेत्र तथा हिमाली क्षेत्र होचो अग्लो भूभागले भरिएको हुन्छ । पैरोको सम्भावना हुन्छ । यस्ता ठाउँमा यातायातको साधनको विकास गर्न कठिनाई पर्छ । सडक यातायात खर्चिलो र कठिन हुन्छ । रेलमार्ग र जलमार्गको सम्भावना हुँदैन । हवाई मार्ग विकास गर्न पनि समस्या हुन्छ । हवाईजहाजका लागि आवश्यक धावन मार्ग बनाउने ठाउँ विरलै पाइन्छ । खराब मौसमले गर्दा हवाई दुर्घटनाको सम्भावना भइरहन्छ । पहाडी भूभागले पनि हवाई चालकलाई तर्साउँछ । यातायातको कठिनाइले सञ्चार साधनको विकासमा समस्या उत्पन्न गर्छ । यसबाट क्षेत्रीय तथा प्रादेशिक अन्तरसम्बन्ध स्थापना गर्न सहज हुँदैन । विराटनगरबाट ओलाङचुङगोला पुग्न सजिलो छैन । सानो विपद आइपर्दा पनि सहायता चाँडो पुऱ्याउन सकिंदैन । उत्तरी सिमानामा स्थित सरकारी कार्यालयहरूमा आवश्यक सामान काठमाडौँबाट पुयाउन सहज छैन । विराटनगरबाट आवश्यक परे आधा घण्टामा काठमाडौँ पुगिन्छ । जुम्लामा टेलिफोन टावर मर्मत गर्नुपरे समय पर्खनु पर्छ । काठमाडौँबाट नै चाहेको बेला, आवश्यक परेको बेलामा मुस्ताङ पुग्न सकिँदैन । एउटा डाँडाबाट अर्को डाँडा पुग्न कति समय लाग्छ । यसैले भौगोलिक विविधताले क्षेत्रीय र प्रादेशिक अन्तरसम्बन्ध, पहुच र सहजतामा असर गरेको छ ।

परियोजना कार्य

1.  तपाइँको समुदायको अर्थतन्त्र तथा जीविकोपार्जनको अवस्था अवलोकन गरी त्यो अवस्था हुनुमा भौगोलिक कारणहरू के के जिम्मेवार होलान्‌, खोजी गरी प्रतिवैदन तयार पार्नुहोस्‌।

उत्तर:- म ग्रामीण समुदायमा बस्छु । मेरो गाउँमा ४३१ वटा घरपरिवार बस्छन्‌ । यहाँ अधिकांश परिवार खेतीमा लागेका छन्‌ । मेरो गाउँ तराई प्रदेशमा पर्छ । यहाँको माटो मलिलो छ । हामी यहाँ धान, उखु, मकै, कोदो गहुँ, मुसुरो, कालोदाल, रहरको दाल तथा तरकारी उब्जाउँछौ । हाम्रो गाउँबाट नजिकको सहर १३ कि.मि. टाढा छ । त्यहाँसम्म जान पक्की बाटो छ । गाउँकै छेउबाट खोला बग्छ । खोलाको पानी हामी सिँचाइका लागि प्रयोग गछौँ । गाउँमा दुई परिवारहरूले खेतीका औजार मरम्मत गर्छन्‌ र नयाँ पनि बचाउँछन्‌ । गाउँमा ३ परिवारले किराना पसल र ३ परिवारले कपडा र अरू थोक बेच्छन्‌ । हामीलाई खेतबाट उत्पादन भएको सामान बिक्री गर्न समस्या छैन । गाउँमै उखुबाट सक्कर तयार गरिन्छ । धान कुट्ने मिल छ । बढी भएको उत्पादन सहर बजारमा सजिलै बिक्री हुन्छ । यहाँ एउटा हाईस्कुल छ । यहाँ एउटा स्वास्थ्य चौकी पनि छ। हाम्रो गाउँमा समतल जग्गा र मलिलो माटोले गर्दा मानिसहरू खेतीपातीमा लागेका छन्‌ । यहाँ वर्षायाममा धान रोपिन्छ । थप पानीको लागि खोलाको पानी प्रयोग गरिन्छ । खोलाकै पानी प्रयोग गरी हिउँदे बाली लगाइन्छ । सहर बजार जान कठिनाइ छैन । हामी कहाँ केही गर्मी भएपनि जाडोमा शीत लहर चल्दैन । यो सबै हामीले हाम्रो सहज भौगोलिक अवस्थाले गर्दा पाएका हौ ।

थप प्रश्नहरु

1.  कारण दिनुहोस्‌ :

(क) अमेजन वेंसीमा बाक्लो जङ्गल पाइन्छ ?

उत्तर:- अमेजन वेंसीमा सालैभर गर्मी र सालैभर वर्षा हुन्छ । बढी तापक्रम र वर्षाले रूखविरुवाहरू उम्रन मद्दत मिल्छ । यहाँ पातलो वस्तीले गर्दा वनजङ्गल सप्रन मद्दत मिलेको छ । यहाँ अग्ला अग्ला सालैभर हरियो रहने कडा काठका रुखहरूको बाक्लो जङ्गल बनेको छ । यो जङ्गललाई सेल्भास (Selvas) भनिन्छ । यहाँ विभिन्न प्रजातिका जीवजन्तुहरू पनि पाइन्छ ।

(ख) भूमध्यरेखीय क्षेत्रमा पातलो बस्ती पाइन्छ।

उत्तर:- भूमध्यरेखीय क्षेत्रमा सालैभर गर्मी र वर्षा हुन्छ । बढी वर्षाले गर्दा मलिलो माटो बगेर जान्छ । यहाँ रोगव्याधि र बाढीको प्रकोप भइरहन्छ । बढी गर्मी र बढी वर्षाले मानिसहरूको स्वास्थ्यलाई पनि राम्रो प्रभाव पार्दैन । यहाँका मानिसहरू गर्मीले गर्दा फुर्तिला हुँदैनन्‌ । यहाँ खेतीपाती, उद्योग व्यवसाय जस्ता विकासमा पूर्वाधारहरूको विकास भएको छैन्‌ । यसैले यहाँ पातलो वस्ती भएको हो । यहाँ पाइने आदिवासी पिग्मीज हाल पनि परम्परागत जीवन यापन गर्छन्‌ । सिङ्गापुर, मलेसिया आदि देशहरू पश्चिमी मुलुकहरूको सङ्गतले गर्दा विकसित भएका छन्‌ ।

(ग) टायगा प्रदेशमा कागज बनाउने काम गरिन्छ ।

उत्तर:- उत्तरी घ्रुवीय प्रदेशको केही तलतिर कोणधार वन पाइन्छ । यहाँ धुपी सल्ला जस्ता नरम काठका विरुवाहरू पाइन्छ । यहाँ गर्मीमा न्यानो र हिउँदमा धेरै जाडो हुन्छ । यहाँका मानिसहरूको मुख्य व्यवसाय काठ काट्नु हो । गर्मीमा नदीको पानी पग्लेपछि काठका मुढाहरू पानीमा बगाएर मिल छेउ पुप्याउने गरिन्छ । यहाँ नरम काठबाट कागज र पल्प बनाइन्छ । साथै नरम कामका फर्निचरहरू पनि बनाउंने काम गरिन्छ । यो क्षेत्र क्यानडा, युरोप र एसियाको उत्तरी क्षेत्रमा पाइन्छ । यसलाई टायगा प्रदेश भनिन्छ ।

(घ) ऊँटलाईं मरुभूमिको जहाज भनिन्छ ।

उत्तर:- उष्ण मरुभूमि प्रदेशमा मानिसहरु ऊँट पाल्ने गर्छन् । उँटको खुट्टामा बालुवामा भासिँदैन । उँट पानी नपिईकन पनि 3/४ दिनसम्म रहन सक्छन् । मरुभूमिमा पानीको कमि हुन्छ । ऊँटलाई मालसमान बोक्न र चढ्नका लागि प्रयोग गरिन्छ । ऊँटको सहायताले मरुभूमिमा आवतजावत गर्न सजिलो हुने भएकोले यसलाई मरुभूमिको जहाज भनिएको हो ।

(ङ) प्रेरिजलाई विश्वकै अन्न भण्डार भनिन्छ ।

उत्तर:- प्रेरिज उ. अमेरिकामा पर्ने समशीतोष्ण घाँसै फाँट हौं । यहाँ ससाना घाँसहरू प्रशस्त पाइन्छ । सुकेका घाँस गलेर माटोलाई मलिलो बनाउँछ । यो क्षेत्र गहुँ उत्पादनका लागि अनुकूल छ । यहाँ बढी गर्मी हुँदैन र बढी वर्षा पनि हुँदैन । यसैले यहाँ प्रशस्त गहुँ उत्पादत हुन्छु । खेतीका सबै काम मेशीनबाट गरिन्छ । यहाको गहुँ अन्य मुलुकमा- पनि निकासी गरिन्छ । प्रशस्त गहुँको उत्पादन हुने हुँदा यो क्षेत्रलाई विश्वको अन्नभण्डार भनिएको हो ।

(च) अष्ट्रेलियाले ऊन निर्यात गर्छ ।

उत्तर:- अष्ट्रेलियामा समशीतोष्ण घाँसे फाँट डाउन्स छ । यहाँ पनि बढी गर्मी हुँदैन र बढी वर्षा हुँदैन । प्रशस्त घाँस पाइने हुनाले यहाँ भेडा पाल्ने गरिन्छ । डाउन्समा लाखौ भैडा पाल्ने गरिन्छ । घाँस प्रशस्त पाइने हुनाले उन्नत जातिका गाईवस्तुहरू पनि पाल्ने गरिन्छ । भेडाबाट प्रशस्त ऊन पाइने हनाले अष्ट्रेलियाले ऊन निर्यात गर्छ । गाईवस्तुबाट प्रशस्त दूध पाइने हुँदा यहाँ दुग्ध व्यवसाय पनि विकास भएको छ।

(छ) भूमध्यसागरीय क्षेत्रलाई विश्वको बगैँचा भनिन्छ ।

उत्तर:- भूमध्यसागर वरिपरि क्षेत्रमा भूमध्यसागरीय हावापानी पाइन्छ । यहाँ गर्मीमा न्यानो र सुक्खा हुन्छ । हिउँदमा चिसो र मझौला वर्षा हुन्छ । यो हावापानी रसिलो तथा अमिलो फलफूल उत्पादन गर्न अनुकूल छ । हिउँदे वर्षाले फूल लाग्न र फल लाग्न मद्दत गर्छ । पारिलो घामले फलफूल पाक्न मद्दत गर्छ । यसैले यहाँ सुन्तला, अङ्गर, अंजीर जस्ता फलफूलहरू प्रशस्त उत्पादन हुन्छ । फलफूल प्रशस्त फल्ने हुनाले यो क्षेत्रलाई संसार वाँ विश्वको बगैँचा भनिएको हो ।

(ज) उष्णतृण भूमि क्षेत्रलाई विश्वको चिडियाखाना भनिन्छ।

उत्तर:- उष्णतृण भूमि क्षेत्रलाई सभाना क्षेत्र पनि भनिन्छ । यो’क्षेत्र कङ्गो प्रदेश वरिपरि, तंजानिया, केन्या आदि ठाउँमा पर्दछ । यो ठाउँमा गर्मी भए पनि वर्षा कम हुन्छ । थोरै वर्षा भएकाले यहाँ ठूला रुखको कमी छ तर अग्ला अग्ला घाँसका फाँटहरू प्रशस्त छन्‌ । यहाँको घाँसे फाँटमा बाघ, चितुवा, गैडा, जिराफ, अर्ना, हात्ती आदि जङ्गली जनावरहरू प्रशस्त भेटिन्छन्‌ । त्यसैले यो क्षेत्रलाई विश्वको चिडियाखाना भनिएको छ । हाल कतिपय देशहरूले राष्ट्रिय उध्यानहरूको स्थापना गरी जङ्गल सफारी कार्यक्रम सञ्चालन गरी प्रशस्त पर्यटकहरू आकर्षित गर्न थालेका छन्‌ ।

(झ) पहाडी क्षेत्रमा साहसिक पर्यटन विकास गर्न सकिन्छ ।

उत्तर:- पहाडी क्षेत्र कठिन धरातलले बनेको हुन्छ । यहाँ नदीनाला जोडले बग्छन्‌ । छाँगोहरू प्रशस्त भेटिन्छन्‌ । पहाडी धरातल प्रशस्त पाइन्छ । त्यसैलै यहाँ पहाडी नदीहरूमा र्याफ्टिङ, क्यानोइंग गर्न सकिन्छ । भिरालो जग्गामा जिपर राइडिङ, वंजी जम्प जस्ता खेल खेल्न सकिन्छ । पर्वतारोहण तथा प्याराग्लाइडिङ, पदयात्रा आदि साहसिक पर्यटन कार्यक्रममा सहभागी हुन सकिन्छ ।

(ञ) पहाडी भूभागभन्दा मैदानी भूभाग बढी विकसित हुन्छ ।

उत्तर:- पहाडी धरातल होचो अग्लो भएको, पैरोको जोखिम रहने, प्रशस्त नदीनाला, छाङ्गो पाइ्ने हुनाले यहाँ उद्योग, कृषि, यातायात, सञ्चार आदि विकासको पूर्वाधार विकास गर्न कठिन हुन्छ । मैदानी भाग समथर भएको र मलिलो माटो पाइने हुनाले यहाँ उद्योग, व्यापार, कृषि, सञ्चार, यातायात आदिको विकास बढी हुन्छ । रोजगारीको सम्भावना पनि बढी हुनाले यहाँ मानिसहरूको वस्ती बाक्लो हुन्छ । विकासका पूर्वाधारहरूको विकास बढी भएकाले मैदानी भाग बढी विकसित हुन्छ ।

This Post Has One Comment

  1. सुनिता तामाङ

    भौगोलिक विविधताले पर्यटन क्षेत्रमा पार्ने प्रभावहरु ब्याख्या गर्नुहोस् ।

Leave a Reply