एकाइ:- २ पाठ-४ सुन्दर फुलबारी नेपाल

एकाइ:- २ पाठ-४

सुन्दर फुलबारी नेपाल

१) विविधतामा एकता भनेको के हो

 उत्तर: विभिन्न जातजाति, धर्म, लिङ्ग र समुदायका मानिसहरूबीचको मेलमिलापलाई विविधतामा एकता भनिन्छ।

२) ‘नेपाल एक सुन्दर फूलबारी हो।’ यस भनाइलाई पुष्टि गर्नुहोस्। 

उत्तर: नेपाल एक सुन्दर फुलबारी

वि.सं. २०६८ को जनगणाअनुसार नेपालमा मुख्य गरी १२५ जातजाति, १२३ भाषाभाषी र १०  धर्मावलम्बी हरूको बसोबास रहेको छ

नेपाल एउटा सुन्दर फूलबारी हो भने हामी सबै नेपालीहरू यो फूलबारोमा फुलेका फूलहरू हौँ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म र उत्तरको हिमाली क्षेत्रदेखि दक्षिणको तराईसम्म बसोबास गर्ने नागरिकहरूलाई ‘नेपाली’ नामको धागोले एउटै माला गाँसेको छ। त्यसैले त हामी भन्छौं :

 

हिमाल, पहाड़ तराई, कोही छैन पराई। 

मेचीदेखि काली, हामी सबै नेपाली

जाति फरक भए पनि हामी नेपालीमा एउटै गोर्खाली रगत बगेको छ। धर्म फरक भए पनि ‘धार्मिक सहिष्णुता’ को बलियो विश्वास अमर रहेको छ। त्यसैगरी भौगोलिक क्षेत्र फरक रहे पनि नेपाली माटोको न्यानो मायाले सबैलाई अङ्गालेको छ ।

विभिन्न मठमन्दिर, चैत्यगुम्बा, मस्जिद र चर्चहरूले सजिएको हाम्रो देश नेपाल धार्मिक सहिष्णुताको नमुना राष्ट्र हो। विभिन्न धर्मावलम्बीहरूका चाडपर्व र मेलाजात्रामा हामी सबै नेपालीहरू मिलेर रमाउँछौँ। एउटा नेपालीलाई दुःख वा आपत् विपत् परेको बेला अरू नेपालीले मिलेर सहयोग गर्नु नै हाम्रो मूल धर्म हो। त्यसैले हाम्रो देश नेपाल विभिन्न जातजाति, भाषा, संस्कृति र सभ्यताको साझा फूलबारी हो।

 

३) ‘विविधतामा रमाऔं’ भनेको के होला ?

उत्तर:विविधतामा रमाऔं

फरक फरक कुराहरू देखेर वा अनुभव गरेर खुसी हुने कार्यलाई विविधतामा रमाऔं भनिन्छ । नेपाल १२५

जातजाति, १२३ भाषाभाषी र १० धर्मावलम्बीहरुको साझा फूलबारी हो। यो देशमा अनेकौ चाडपर्व, मेला जात्रा,रीतिरिवाज, र परम्पराहरू देख्न सकिन्छ। हिमाल, पहाड र तराईमा भौगोलिक क्षेत्रअनुसारको हावापानी,माटो र वनस्पतिहरू पनि फरक फरक रहेको छ। नेपालभित्रको यही विविधताले राष्ट्रलाई विश्वसामु चिनाएको छ। विविधतामा रमाउनका लागि हामीले निम्न कुराहरूमा ध्यान दिनुपर्छ: 

  • आफ्नो मातृभाषा बाहेक अन्य भाषाहरू पनि बोल्न र लेख्न सिक्नुपर्छ।
  •  अन्य जाति वा धार्मिक समुदायको चाडपर्व, मेला, जात्रा आदि अवसरमा सहभागी भएर शुभकामना आदान प्रदान गर्नुपर्छ।
  • फरक-फरक भाषा बोल्ने र फरक जातिका व्यक्तिहरूलाई साथी बनाएर उहाँहरूबाट अनेक कुराको अनुभव गर्न सक्नुपर्छ।
  • विभिन्न भौगोलिक क्षेत्रहरूमा रहेका प्रदेशको भ्रमण गरेर नयाँ नयाँ ठाउँको अनुभव गर्नुपर्छ 

Leave a Reply