पाठ-९
हाम्रो संस्कृति
लेखाइ
१. पाठको दसौं अनुच्छेदबाट मुख्य मुख्य पाँच बुँदा टिपी सारांश लेख्नुहोस् ।
बुँदाहरू
i) धेरै जसो संस्कृतिमा सबै जातिका मानिसको उत्साह उत्तिकै,
ii) पहिले तराईमा मात्र मनाइने छठ अब पहाड हिमालमा पनि उत्तिकै मनाइ थालियो,
iii) अर्मपर्म, सरसहयोग र समूहमा रमाउने नेपाली संस्कृति,
iv) बटुवाका लागि परपीपल रोप्ने, चौतारो बनाउने, पाटीपौवा बनाउने नेपालीको संस्कृति,
v) हाम्रो संस्कृतिले अभावका बिचमा पनि रमाउन, आफ्नै कमाइमा बाँच्न, श्रमको पूजा गर्न सिकाउँछ ।
सारांश
– नेपालमा रहेका धेरैजसो संस्कृतिमा सबै जातिका मानिसको उत्तिकै उत्साह छ । पहिले तराईमा मात्र मनाइने छठ अब सबैतिर मनाउन थालियो । अर्मपर्म सर-सहयोग र समूहमा रमाउने संस्कृति नेपालीको रहेको छ । बटुवाका लागि वरपीपल रोप्ने, चौतारो बनाउने, पाटीपौवा बनाउत्ते नेपालीको संस्कृति रहेको छ । हाम्रो संस्कृतिले अभावका बिचमा पनि रमाउन, आफ्नै कमाइमा बाँच्न र श्रमको पूजा गर्न सिकाउँछ ।
जम्मा शब्द = १००
सारांश गर्नु पर्ने = ३३
सारांश गरिएको = ४१
२. पाठबाट तपाईंले थाहा पाएका मुख्य नयाँ कुराहरू के-के हुन्, लेख्नुहोस् ।
उतर:- पाठबाट मैले मुख्य रूपमा नयाँ कुराहरु धैरै थाहा पाएँ । पाठको अध्ययन पश्चात् संस्कृतिको परिभाषाका साथै संस्कृति आचार संहिता पनि रहेको थाहा पाए | यस्तै संस्कृतिमा धर्मलाई जोड्ने र गलत अर्थ लगाउने कुराका अतिरिक्त संस्कृतिलाई विज्ञान सम्मत ढङ्गले हेर्न थालिएको कुरा पनि थाहा पाएँ । यसैगरी नेपालका धेरै चाडपर्वहरूलाई तराई, पहाड र हिमाली क्षेत्रमा बसोबास गर्ने नेपालीहरूले साझारूपमा मनाउन थालेको पनि थाहा पाएँ ।
३. व्याख्या गर्नुहोस् :
(क) संस्कृतिको चरित्र परम्परागत हुन्छ तर अपरिवर्तनशील भने हुँदैन ।
उतर:- संसारमा हरेक कुराको परिवर्तन भइरहन्छ । परिवर्तन भइरहनु साँसारिक नियम हो । यो प्रकृति प्रदत्त नियम पनि हो । त्यस्तै मानिस सधैँ एकै नासको जीवनशैलीभन्दा भिन्न प्रकारको जीवनशैली रुचाउन चाहने प्राणी हो । उसका चाहना र आवश्यकताहरू असीमित हुने गर्छन् । आफ्ना चाहना र आवश्यकता पुरा गर्न नयाँ नयाँ अवसरहरूको खोजी गर्नु मानिसको चरित्र हो । मानिसले अँगालेका संस्कृतिको चरित्र परम्परागत भए पनि यसमा समयानुकूल परिवर्तनहरू भइरन्छन् ।
मानिसले अँगाल्ने संस्कृति परम्परागत हुन्छ । परिवार, समाज र आफ्नो वरिपरिको परिवेशले निर्माण गरेको संस्कृतिलाई मानिसले अनादिकालदेखि अँगाल्दै आएको छ । पूर्वीय सभ्यता अनुसार बाबुआमा, गुरु र पाहुनालाई देवतासरह मानी सम्मान गरिन्छ । यो आजको परम्परा होइन । धेरै अघिदेखि यस्ता थुप्रै सांस्कृतिक कुराहरू नेपाली समाजलाई अँगाल्दै आएको छ। त्यसैले संस्कृति मूल्नत: परम्परागत हुन्छ । यो परम्परागत भए पनि सधैँ एकै प्रकारको भने हुन्न । यसमा समय र परिस्थिति अनुसार परिवर्तन भइरहन्छ । हिजो हाम्रो संस्कृति यस्तो थियो, आज पनि त्यसलाई अनुसरण गर्नुपर्छ भन्ने हुँदैन । समाजले चाहे अनुसार संस्कृतिमा परिवर्तन हुँदै जान्छ र यो अपरिवर्तनीय हुँदैन ।
(ख) अन्धविश्वास, विभेद, शोषण, उत्पीडन आदि संस्कृति नभएर विकृति हुन् ।
उत्तरः- कुनै पनि संस्कृतिभित्र अनेक कुराले विकृति भित्र्याइरहेको हुन्छ । संस्कृतिलाई विकृत बनाउने समाज र समाजमा वस्ने मानिस नै हुन् । भलाइको लागि अपनाइने संस्कृतिलाई मानिसले आफ्नो स्वार्थअनुकूल बनाएर त्यसभित्र विकृति निम्त्याउने काम गर्छन् । त्यस्ता विकृतिले समाजमा अनेकौँ समस्याहरू सिर्जना गर्छन् ।
संस्कृतिलाई विकृत बनाउने महत्त्वपूर्ण पक्षहरूमा अन्धविश्वास पनि एक हो । अन्धविश्वासका कारण संस्कृतिमा विकृति उत्पन्न हुने गर्छु । नेपाली समाजमा प्रचलित बोक्सी, छुवाछुत, बलिप्रथा, छौपडी आदि अन्धविश्वासकै परिणति हुन् । यस्तै सानोठुलो, गरिब धनी, छुतअछुत, महिलापुरुष आदि विभेदहरु पनि नेपाली संस्कृतिका विकृत रूप हुन् । यसैगरी सामाजिक शोसन, उत्पीडन पनि संस्कृतिका विकृति रुपभित्रै पर्दछन् । कुनै पनि संस्कृतिले यस्तो विकृतिलाई प्रश्रय दिँदैन तर समाजमा यस्ता विकृती देखिने गर्छन् । यस्ता कुराहरुले संस्कृतिलाई कुरुप बनाउने काम गर्छन् ।
४. “विविधतामा एकता र आपसी सहिष्णुता हाम्रो संस्कृतिको विशेषता हो” भन्ने भनाइलाई तर्कसहित पुष्टि गर्नुहोस् ।
उतर:- नेपाल विविध जातजाति, भाषाभाषी र धर्मसंस्कृति मान्ने मानिसहरूको बसोबास भएको मुलुक हो । यहाँ तराईदेखि पहाड तथा हिमालसम्म बसोबास गर्ने मानिसहरू थुप्रै जातका र थुप्रै भाषा बोल्ने रहेका छन् । अनेक जातजाति र भाषाभाषीको साझा फुलबारीका रूपमा नेपाल धेरै अघिदेखि चिनिँदै आएको छ । यहाँ विविधता भए पनि एकता कायम छ । जाति, भाषा र धर्मका आधारमा यहाँ कहिल्यै कलह भएको छैन । हिन्दु धर्मावलम्बीहरूले बौद्ध धर्मावलम्बीहरूलाई, बौद्ध धर्मावलम्बीहरूले हिन्दु धर्मावलम्बीहरूलाई सम्मान गर्ने संस्कृति यहाँ रहेको छ । त्यस्तै तराईका मानिसहरूले मान्दै आएको छठ जस्तो चाडपर्वलाई पहाडकाले मान्नु र पहाडे समुदायले मान्दै आएका कतिपय चाडपर्वलाई मधेसी समुदाय मान्नु धार्मिक सहिष्णुताको सुन्दर पक्ष हो । त्यसैले आपसमा अर्काको संस्कृतिको सम्मान र आदर हाम्रो संस्कृतिको महत्त्वपूर्ण विशेषता हो । त्यस्तै बुबाआमा गुरु र घरमा आएका पाहुनालाई देवतासरह मान्नु र आदर सत्कार गर्नु पनि नेपाली संस्कृतिको विशेषता मानिन्छ ।
५. नेपालमा संस्कृतिका नाममा देखिएका विकृतिहरूको उदाहरणसहित विवेचना गर्नुहोस् ।
उतर:- हिजोआज नेपालका संस्कृतिका नाममा थुप्रै विकृतिहरू देखा परिहेका छन् । मानिसका भलाइका लागि अपनाइने संस्कृतिमा विकृतिहरू भित्रिनु शोभनीय होइन । संसारले धेरै फड्को मारिसकेको भए पनि हाम्रो संस्कृतिमा विकृतिले प्रवेश पाएका कारण हामीले आशातीत प्रगति गर्न सकेका छैनौँ । नेपाली समाजलाई आज चारैतिरबाट विकृतिले गाँजिरहेका छन् । यसबाट उम्किन सकिएन भने नेपाल र नेपाली संस्कृतिमा थुप्रै सङ्कटहरू आइलाग्न सक्छन् ।
नेपालमा संस्कृतिका नाममा देखिएका विकृतिमध्ये अन्धविश्वास प्रमुख मानिन्छ । नेपाली समाजमा अन्धविश्वासले अझै जरो गाडेको छ । त्यसले दिन परदिन विकृतिको रूप लिइरहेको छ । दाइजो, तिलक, बोक्सी, छुवाछुत, बलिप्रथा, छौपडी प्रथा आदि अन्धविश्वासकै परिणति हुन् । यही अन्धविश्वासले गर्दा समाजमा अनेक विकृति बढिरहेका छन् । अन्धविश्वासको पछि लाग्दा समाजले गति लिन सक्दैन र समाज झन् विकृत बन्दै जान्छ । यस्तै विभेद, शोषण, उत्पीडनको संस्कृति पनि आज नेपाली संस्कृतिमा मौलाएको छ । यसले समाजलाई एकताबद्ध र सद्भावतर्फ डोर्याउनुको सट्टा विखण्डनतर्फ उन्मुख गराइरहेको छ।
आज नेपाली समाजमा घुसखोरी, भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो क्रममा छ । त्यस्तै अर्कालाई दु:ख दिएर वा नराम्रो काम गरेर धनी बन्ने चाहना पनि मौलाइ रहेको छ । पूजाआजा, चाडपर्व, जन्म, विवाह, मृत्यु आदिमा तडकभडक गर्ने र अनावश्यक खर्च गर्ने प्रवृत्तिले प्रश्रय पाएको छ । यस्ता धार्मिक र सांस्कृतिक उत्सवहरूमा आडम्बर देखाउने, मादक पदार्थ सेवन गर्ने, जुवा, तास खेल्ने, झगडा गर्ने जस्ता प्रवृत्तिहरू पनि देखिन थालेका छन् । यस्ता विकृतिहरू नेपाली समाजमा व्यापक बन्दै गएका छन् । संस्कृतिका नाममा देखिएका यस्ता विकृतिहरूले नेपाली समाजलाई प्रगतितर्फ भन्दा अधोगतितर्फ धकेलिरहेको छ ।
६. ‘देशभक्ति‘ शीर्षकमा एउटा अनुच्छेद रचना गर्नुहोस् ।
उतर:-
देशभक्ति
– मानिस र माटोको अटुट सम्बन्ध वा नाता नै देशभक्ति हो । आफू जन्मिएको देश जस्तो भए पनि सबैलाई राम्रो लाग्छ । आँखाको नानीजस्तै सम्झेर अनि आफ्नो मुटजस्तै ठानेर देशलाई प्यारो गर्नु देशको भक्ति हो । देशको मायालाई नै देशभक्ति, देशप्रम वा राष्ट्प्रेम पनि भनिन्छ । मानिस जुन देशमा जन्मन्छ, हुर्कन्छ अनि बाँच्छ त्यही देशको माटो र पानीमा ऊ रँगिन्छ । त्यसै देशसँग उसको गहिरो सम्बन्ध हुन्छ । जन्मभूमिसँग हाम्रो सम्पूर्ण सुख दु:ख गाँसिएको हुन्छ । यस संसारमा दु:ख पाएर कल्पित सपनामा रङमङि्नु मृगतृष्णा हुन्छ । वास्तवमा देशलाई माया गर्ने मानिसले नै आफ्नो र आफ्नो समाजको कल्याण गर्न सक्छ । हामीले आफ्ना कुनै पनि राम्रा कामद्वारा हामी देशलाई माया गरिहेका हुन्छौँ । देशको माटामा आफ्नो शक्ति लगाएर, देशका निम्ति सीप देखाएर, शिक्षाको प्रचार तथा सुधार कार्य गरेर देशको भक्त हुन सकिन्छ । देशलाई माया गर्ने मानिस कुनै पनि दु:ख झेलेर काम गर्न पछि हट्दैनन् । उनीहरू परिआए देशका लागि ज्यानै अर्पण गर्न पनि तयार हुन्छन् । त्यसैले देशभक्ति भन्ने कुरा प्रत्येक राष्ट्रबासीमा हुन जरूरी छ।
७. ‘मानव सभ्यताको संरक्षण‘ भन्ने शीर्षकमा सर्वप्रथम शिक्षकबाट बुँदाहरू प्राप्त गर्नुहोस
र ती बुँदालाई समेटेर निबन्ध लेख्नुहोस् ।
उतर:- बुँदाहरू:
(क) मानिस जङ्गली अवस्थाबाट यस अवस्थामा आएको,
(ख) जङ्गली युगमा मानव काँचो मासु खाइ जिविको पार्जन गय्थ्यो,
(ग) मानिसले लामो समय पछि आफ्नो जीवनलाई सहज बनाउने क्रममा घर, कृषि कार्य गर्न थाल्यो,
(घ) मानिसले आधुनिक युगमा आएर विभिन्न प्रकारका सम्भयताको विकास गर्न थाल्यो,
(ङ) मानिसले आफूले निर्माण गरेको सभ्यताको संरक्षण गर्नु पर्छ,
(च) सभ्य हुनाको भाव, गुण, विशेषता वा स्थिति, शिष्टता भद्रता,
(छ) कुनै जाति, वा राष्ट्रको सामाजिक, भौतिक, आध्यात्मिक आदि अवस्था र उन्नति, प्रगतिको सम्पूर्ण प्रतिविम्बन ।
‘मानव सभ्यताको संरक्षण‘
कनै जाति वा राष्ट्रको सामाजिक भौतिक, आध्यात्मिक आदि अवस्था र उन्नति, प्रगतिको सम्पूर्ण प्रतिबिम्बिन नै सभ्यता हो । सभ्य हुनाको भाव गुण विशेषता वा स्थिति, शिष्टता, मद्धत नै सभ्यता हो । मानवले आफ्नो सभ्यताको संरक्षण गर्नै पर्छ।
हामी नेपाली हौँ हाम्रो सभ्यता पुरातन छ । यसलाई हामीले मेट्न दिनु हुन्न । हाम्रो सभ्यता र संस्कति हाम्रा पुर्खासँग जोडिएका छन् । पुर्खाले जीवनलाई सहजता बनाउन तयार गरेका चालचलन नै संस्कृति हुन् । पुर्खाको आविष्कार नै हाम्रो सभ्यता हो। यो एकै दिनमा बनेको होइन । त्यसैले आफ्नो सभ्यता र संस्कृति सबैलाई प्यारो लाग्छ। सभ्यत्तासँग मानिसको आफ्नो इतिहास र पहिचान जोडिने भएकाले पनि त्यो सबैको प्रिय हुन्छ।
जङ्गली युगदेखि नै सभ्यताको सुरूवात भएको पाइन्छ । जङ्गली युगमा पनि मानिसले आफ्नो जीवनलाई सहज बनाउन हरमजदुर प्रयास गरेको थियो । यसरी सभ्यताको लामो समय पछि मानवले आफू बस्ने घर, कृषि औजार आदिको विकास गर्यो र विस्तारै आधुनिकता तर्फ लम्कियो । मानिसले यसरी त्यो सभ्यताबाट यो सभ्यता सम्म आइपुग्दा अनेकन हन्डरहरू खायो तरपनि थाकेको छैन ।
हामी प्रत्येक मानिसको आ-आफ्नै सभ्यता र संस्कृति छन् । हामीले आफ्नो सभ्यता र संस्कृतिलाई मर्न दिनु हुँदैन किनकि त्यसमा हाम्रो पहिचान लुकेको हन्छ ।
८. ‘मेरो व्यवहार नै मेरा आचरणको ऐना हो‘ भन्ने शीर्षकमा बुँदा तयार पारी आत्मपरक निबन्ध रचना गर्नुहोस् ।
उतर:- बुँदाहरू
(क) मेरो व्यवहार मेरो आचारणमा झल्किने,
(ख) मेरो आचरण शुद्ध, स्वच्छ र पारदर्शी हुनुपर्ने,
(ग) मेरो कथनी र करनीमा एकरूपता हुनुपर्ने,
(घ) सामाजिक, आर्थिक आदि व्यवहारमा तलमाथि नहोस् भनी ख्याल गर्ने गरेको,
(ङ) मेरो व्यवहार नै मेरो आचरणको ऐनाका रूपमा रहेको,
मेरो व्यवहार नै मेरो आचरणको ऐना हो
– म एक सचेत प्राणी हुँ । मैले मेरो आचरण र व्यवहार के हो भन्ने बारेमा सघैँ संवेदनशील हुनैपर्छ । मैले व्यवहारमा तलमाथि गरेका खण्डमा त्यो केही समय ढाकछोप भए पनि त्यो कुनै न कुनै बेला प्रकट भएर छाड्ने भएकाले मैले हरहमेसा सतर्क भएर व्यवहार गर्नु आवश्यक छ । म अरूसँग जुन व्यवहार गर्छु, त्यसबाट मेरो आचरण स्पष्ट रूपमा झल्किने गर्छ । त्यसैले मेरो व्यवहार नै मेरो आचरणको ऐना हो ।
मेरो व्यवहार घर परिवारदेखि समाज, राष्ट्र र अन्तर्राष्ट्रिय स्तरसम्म फैलिएको छ । म एउटा शिक्षित परिवारको शिक्षित मान्छे हुँ । मैले घर परिवारमा बुबाआमा, श्रीमती, छोराछोरी र आफन्तहरूसँग असल व्यवहार गर्नुपर्छ । यदि मैले सबै आफन्तजनसँग असल व्यवहार गरिनँ भने त्यसको प्रतिफल सबैले भोग्नुपर्छ । गलत मनसायले श्रीमतीसँग व्यवहार गर्दाको परिणाम कति दु:खान्त हुन्छ भन्ने करा समाजमा देखिएकै हो।त्यसैले म कुनै पनि हालतमा गलत व्यवहार गर्न चाहन्नँ ।
मेरो व्यवहार शुद्ध, सफा र पारदर्शी हुनुपर्ने कुरामा म स्पष्ट छु । मैले अलिकति पनि व्यवहारमा तलमाथि गरेँ भने त्यसको असर सम्पूर्ण परिवार र समाजमा पनि पर्छ । केही कुरा लुकाएर श्रीमति वा छोराछोरीसँग कुरा गरेँ भने त्यसको असर तत्कालै नदेखिए पनि दीर्घकालमा अवश्य देखिन्छ । त्यसैले म व्यवहार गर्दा कथनी र करनीमा कहिल्यै फरक पर्न दिन्नँ । मैले घर परिवारका अतिरिक्त सामाजिक, आर्थिक शैक्षिक जस्ता क्षेत्रमा व्यवहार गर्नुपर्छ । यी क्षेत्रमा काम गर्दा पनि मैले धेरै ख्याल गर्ने गरेको छु । मैले कसैलाई ढाँट्ने वा छल गरेँ भने त्यसले मलाई क्षणिक फइदा अवश्य होला तर त्यसको असर परिनै हाल्छ ।
मेरो व्यवहार नै आचरणको ऐना भएकाले मैले सधैँ असल आचरण गर्नु आवश्यक छ । मेरा असल आचरणले घर, परिवार र समाजमा समेत असर पर्ने भएकाले त्यो शुद्ध र पारदर्शी हुनु जरुरी छ । मैले गरेको व्यवहार स्पष्ट रूपमा आचरणमा देखिने भएकाले यसको दीर्घकालीन असरको ख्याल गरेर मैले आफ्नो व्यवहार सञ्चालन गर्नु पर्छ भन्ने मलाई लाग्छ।
नेपाली विषयमा पनि निबन्ध राखिदिनुहाेला ।