पाठ:-६ विकास अर्थशास्त्र

पाठ-६    

विकास अर्थशास्त्र

१.तल दिइएका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्‌।

(क) आर्थिक विकास भनेको के हो ?

उतर:- एउटा अर्थव्यवस्थामा राष्ट्रिय आयमा हुने दिगो वृद्धिले देशका सम्पूर्ण नागरिकको जीवनस्तरमा हुने वृद्धिलाई आर्थिक-विकास भनिन्छ।

प्रोफेसर जी.एम.मायर का अनुसार आर्थिक विकास एक यस्तो प्रक्रिया हो जसमा दीर्घकालमा कुनै अर्थव्यवस्थाको वास्तविक राष्ट्रिय आयमा वृद्धि हुन्छ।

 

(ख) नेपालमा भएका आर्थिक विकासका क्षेत्रहरू पहिचान गर्नुहोस्‌ ।

उतर:- नेपालमा भएका आर्थिक विकासका क्षेत्रहरु स्वास्थ्य क्षेत्र, प्रविधि विकास, विद्युत्, यातायात र संचारको विस्तार  आदि हुन् ।

 

(ग) आर्थिक वृद्धिको अर्थ स्पष्ट पार्नुहोस्‌ ।

उतर:- एउटा अर्थव्यवस्थाको एक वर्षको अवधिमा हुने राष्ट्रिय उत्पादनको वृद्धिको आकारलाई आर्थिक वृद्धि भनिन्छ।

ज्याकोब भाइबर (Jacob Viber) का अनुसार आर्थिक वृद्धि भन्नाले अर्थतन्त्रको आम गरिबी हटाउने मुद्दा हो।

 

(घ) आर्थिक विकास र आर्थिक वृद्धिबिचको भिन्नता देखाउनुहोस्‌ ।

उतर:- आर्थिक विकास र आर्थिक वृद्धिबिचको भिन्नता निम्न लिखित छन् ।

आर्थिक विकास

आर्थिक वृद्धि

1.आर्थिक विकास जीवनको गुणस्तरबाट मापन गरिने हुँदा यो गुणात्मक धारमा हो । 1.आर्थिक वृद्धि आयको परिवर्तनबाट मापन हुने हुनाले यो सङ्ख्यात्मक धारणा हो ।
2.लामो अवधिको आय बृद्धिले मात्र जीवनस्तर सुधार हुने हुँदा आर्थिक विकास दीर्घकालीन धारणा हो । 2.एक वर्षको आय परिवर्तनको आधारमा आर्थिक वृद्धि गणना हुने हुँदा यो विकासको अल्पकालीन धारमा हो ।
3.आय, सम्पत्ति, रोजगारीको समान अवसर प्रदान गरी गरिबी घटाउने उद्देश्य रहेको हुन्छ । 3.कुनै एक विषयमा सकरात्मक रुपमा तर तीब्र गतिमा अर्थतन्त्रलाई उकास्ने उद्देश्य रहेको हुन्छ ।
4.यसका विषयवस्तुहरु परिमाणमा आधारित हुनाले स्तरीय एकाइमा मापन गर्न सकिन्छ । 4.यसका विषयवस्तुहरु गुणात्मक र परिमाणात्मक हुने हुनाले स्तरीय एकाइमा मापन गर्न कठिन हुन्छ ।
5.देश विकासको पूर्व अवस्था आर्थिक वृद्धिको अवस्था हो । 5.देश विकासको पूर्ण अवस्था आर्थिक विकासको अवस्था हो ।

 

(ङ) नेपालको अर्थतन्त्रका मुख्य पाँच विशेषताहरू के के हुन्‌?

उतर:- नेपाल एक गरिब तथा विकासोन्मुख राष्ट्र हो। नेपालको अर्थव्यवस्थाका मूख्य पाँच विशेषताहरु निम्न अनुसार छन्:

i) कृषि मुख्य व्यवसायको रूपमा:- नेपालका अधिकांश मानिसहरूको प्रमुख पेशा कृषि हो। उद्योगधन्दा र व्यापार व्यवसाय क्षेत्रको पर्याप्त विकास नभएको हुँदा देशको कुल जनसङ्ख्याको करिब ७०% कृषिमा नै भर परेको र तिनको कृषि गर्ने तरिका परम्परागत किसिमको हुनाले कृषि उत्पादकत्व साह्रै कम छ । कुल राष्ट्रिय उत्पादनमा कृषि क्षेत्रको योगदान २७.६% छ । कृषि क्षेत्रबाट पनि मुख्यतया कच्चापदार्थ र खाद्यान्न मात्र उत्पादन हुने गरेको छ ।

ii) प्राकृतिक साधनको न्यून प्रयोग:- जलविद्युत्‌को क्षेत्रमा नेपाल विश्वमा दोस्रो बढी जलविद्युत्‌ उत्पादन गर्न सक्ने सम्भाव्यता भएको राष्ट्र मानिन्छ । त्यस्तै फलाम, तामा, चुन, अञ्रखजस्ता प्रशस्त खनिज पदार्थहरू उपलब्ध छन्‌ तर यी खनिजहरूको उचित आर्थिक प्रयोग भएको पाइँदैन ।

iii) पुँजीको अभाव:- नेपालको अर्को विशेषता पुँजीको अभाव पनि हो । यहाँका मानिसहरूको आय कम भएको हुँदा बचत क्षमता र पुँजी निर्माणको दर अत्यन्त न्यून रहेको छ । यसैगरि बैङ्किङ क्षेत्रको सीमित विकासले पुँजीको निर्माण र पूर्ति कम रहेको छ।

iv) बिप्रेषणमुखी अर्थतन्त्र:- सन्‌ १९९० को दशकपछि नेपालले बैदेशिक रोजगारीलाई प्राथमिकतामा राखेको हुँदा ४० लाख भन्दा बढि युवा जनशक्ति बिभिन्न राष्ट्रमा वैदेशिक रोजगारीमा रहेको छ। उक्त रोजगारीबाट प्राप्त हुने विप्रेषण कूल ग्राहस्थ उत्पादनको करिब ३० प्रतिशत बराबर रहेको छ । जसले सम्पूर्ण अर्थतन्त्र विप्रेषणमुखी रहेको देखाउँछ।

v) विदेशी सहायतामा आश्रित:-देशको कुल बजेटको झन्डै 30 प्रतिशत हिस्सा वैदेशिक सहायतामा निर्भर गर्दछ। साथै यसले अन्तर्राष्ट्रिय वित्तीय संस्थाहरुबाट सहुलियत ब्याजदरमा ऋण सहयोग पनि प्राप्त गर्ने गर्दछ। देशको बढ्दो प्रशासनिक तथा विकास खर्चको माग परिपूर्ति गर्न वैदेशिक सहायता आवश्यक मात्र नभई अनिवार्य विषय बन्न पुगेको छ।

 

२. निम्न लिखित प्रश्नहरूको लामो उत्तर लेख्नुहोस्‌:

(क) आर्थिक विकासका सूचाङ्कहरू के के हुन्‌ व्याख्या गर्नुहोस्‌ ।

उतर:- संसारका सबैजसो विकासोन्मुख देशहरुमा झण्डै-झण्डै एक प्रकृतिका समस्याहरु रहेको पाइन्छ। ती समस्याहरूको निराकरण गरी आर्थिक विकासमा अघि बढाउनु नै ती सबै देशहरूको लक्ष्य पनि हो। यसता गरीब देशहरुमा समयको अन्तराल सँगसँगै आर्थिक विकास भए वा नभएको भन्ने कुरालाई अभिव्यक्ति दिने आर्थिक विकासका सूचाङ्कहरू निम्नानुसार छन्‌ :

(i) प्रतिव्यक्ति आय:- कुनै पनि देशको आर्थिक विकास सर्वप्रथम त्यस देशका मानिसहरूको प्रतिव्यक्ति आयमा निरन्तर वृद्धि हुँदै गएको छ वा छैन भन्ने कुराले देखाउँछ । प्रतिव्यक्ति आयमा वुद्धि हुँदै जानका लागि उक्त देशको राष्ट्रिय उत्पादनमा हुने वृद्धि त्यस देशको जनसङ्ख्या वृद्धिदरभन्दा निकै धेरै हुनुपर्छ । कुल राष्ट्रिय उत्पादनमा हुने त्यस्तो वास्तविक वृद्धिले नै प्रतिव्यक्ति आयलाई दिगो रूपमा बढाउन सक्ने हुँदा प्रतिव्यक्ति आयमा हुने दिगो वृद्धिलाई आर्थिक विकासको सरल सूचक मान्न सकिन्छ ।

(ii) सर्वसाधारणको जीवनस्तरमा वृद्धि:- विकासोन्मुख देशहरूमा अधिकांश जनता गरिब रहेको पाइन्छ। बहुसङ्ख्यक जनताको जीवनस्तरमा परिवर्तन नआउँदासम्म देशको विकासलाई गति दिन सकिन्न । अत: कुनै ‘पनि देशमा आर्थिक विकास भएको छ वा छैन भनेर थाहा पाउन त्यस देशको मानिसहरूको लगाइ खवाइमा परिवर्तन भएको हुनुपर्छ । यसका लागि गरिबप्रति लक्षित कार्यक्रमहरू, रोजगारीको अवसरहरूमा वृद्धि हुनुपर्छ ।

(iii) मानवीय साधनको विकास:- मानव साधनको विकास नभई देशमा उपलब्ध प्राकृतिक साधन र स्रोतहरूको प्रयोग हुन सक्दैन । प्राकृतिक साधन र स्रोतहरूको उचित उपयोग बिना देश विकास हुन सक्दैन । यसै कारण आजभोलि मानव साधनको विकासलाई आर्थिक विकासको सूचक मान्ने गरिन्छ । मानव साधनको विकासले सीपयुक्त, वैज्ञानिकतापूर्ण सोच भएका, परिवर्तनशील जनशक्तिको विकासलाई बुझाउँछ ।

(iv) प्राकृतिक साधनहरूको उचित उपयोग:- प्राकृतिक साधन धेरै हुनु वा थोरै हुनु आफैँमा विकासको सूचक होइन । मुख्य कुरो त त्यस्ता प्राकृतिक साधनहरूको उच्चतम उपयोग नै हो । कतिपय विकासोन्मुख देशहरूमा प्राकृतिक साधन प्रचुर मात्रामा भए पनि पिछडिएका छन्‌ । नेपालमै पनि प्राकृतिक साधनहरूको यथेष्ट उत्खनन र प्रयोग हुन सकेको छैन, जुन विकासको लागि अपरिहार्य छ ।

(v) विज्ञान र प्रविधिको विकास:- आजको युग वैज्ञानिक चमत्कारहरूको युग हो । आजका विकसित देशहरू विज्ञान तथा प्रविधिकै कारण सम्पन्न भएका हुन्‌ । विज्ञान र प्रविधिको विकासले नयाँनयाँ साधन र स्रोतहरूको खोजी एवम्‌ तिनको अधिकतम उपयोगमा जोड दिन्छ । यसबाट कम लागतमा गुणात्मक र बढी मात्रामा उत्पादन गर्न सकिन्छ । अतः विकासका लागि विज्ञान तथा प्रविधिको विकासलाई महत्त्वपूर्ण सूचकको रूपमा लिने गरिन्छ ।

(vi) आर्थिक असमानतामा कमी:- प्रायःजसो विकासोन्मुख देशहरूमा धनी र गरिबबीच व्यापक असमानता रहेको पाइन्छ । यसरी धनी र गरिबबीचको भिन्नता बढ्दै जानुलाई राम्रो मान्न सकिँदैन । गरिब मुलकहरूमा अधिकांश मानिसहरू गरिबीको रेखामुनि जीवनयापन गर्दै आएको पाइन्छ । विकासका गतिहरूको साथै यस्ता आर्थिक असमानताहरुमा कमी आई सबैका लागि समान आर्थिक अवसरहरु उपलब्ध हुनु आवश्यक छ।

 

(ख) आर्थिक विकासको शास्त्रीय सिद्धान्तको वर्णन गर्नुहोस्‌ ।

उतर:-आर्थिक विकासको शास्त्रीय सिद्धान्त अर्थशास्त्रीहरूको संयुक्त योगदान हो। अर्थशास्त्री एडम स्मिथ र उनीभन्द्वा अघिका अर्थशास्त्रीहरू (रिकार्डो, माल्थस, मिल) को विचारमा देखिएको केही समानताहरूको समग्र स्वरूप नै हो । एडम स्मिथद्वारा सन्‌ १७७६ मा लिखित ‘राष्ट्रको धन’ (Wealth of Nations) नामक पुस्तकको प्रकाशन पछि मात्रै शास्त्रीय अर्थशास्त्रीहरूका बिचारमा भएका समानताहरू व्यवस्थित रूपले प्रस्तुत गरिए जुन सिद्धान्तका मुख्य पक्षहरू निम्न लिखित रहेका छन्।

(i) स्वतन्त्र नीति:- सबै शास्त्रीय अर्थशास्त्रीहरूले आर्थिक विकासको लागि आर्थिक क्रियाहरूमा सरकारी हस्तक्षेपको विरोध गरेका छन्‌ र स्वतन्त्र आर्थिक नीतिको वकालत गरेका छन्‌ । उनीहरू पूर्ण प्रतिस्पर्धासहितको स्वतन्त्र अर्थव्यवस्थाको पक्षमा छन्‌ । तिनको विचारमा सरकारको भूमिका प्रहरीको जस्तो शान्ति सुरक्षा दिनुमा मात्रै सीमित हुनुपर्छ । के, कति, कहाँ र कसरी उत्पादन गर्ने भन्ने कुराको निर्णय गर्ने भन्ने स्वतन्त्रता व्यक्तिलाई हुनुपर्दछ ।

(ii) पुँजी सञ्चय:- आर्थिक विकासको मुख्य स्रोत पुँजी हो । पुँजीको सञ्चय गर्न आर्थिक स्वतन्त्रता आवश्यक हुन्छ । देशमा पुँजी सञ्चयको लागि आवश्यक औजार, उपकरणहरूको विकास गर्नुपर्दछ र यसको स्रोत बचत हो । बचतका लागि धन चाहिन्छ र धन सञ्चय केवलः उत्पादन वृद्धिद्वारा मात्रै हुन सक्दछ । सञ्चय नै आर्थिक विकासको प्रमुख आधार हो ।

(iii) नाफा लगानीको उत्प्रेरणा:- शास्त्रीय सिद्धान्तले नाफा’ लाई आर्थिक उत्प्रेरणाको प्रमुख स्रोत मानेको छ। जहाँ नाफा छ त्यहाँ लगानी स्वत: बढ्दछ । पुँजीपतिहरू नाफाका लागि नै कार्य गर्दछन्‌ । बढी नाफाले बढी पुँजी सञ्चय हुन्छ र यसले फेरि थप लगानीमा वृद्धि गर्दै देशलाई आर्थिक विकासको बाटोमा लैजान्छ । अत:नाफा घट्ने गरी कर लगाइनु हुँदैन भन्ने धारणा शास्त्रीय अर्थशास्त्रीहरूको रहेको छ।

(iv) स्थिर अवस्था:- कुनै पनि अर्थव्यवस्थामा नाफामा हुने वृद्धिका साथै आपसी प्रतिस्पर्धामा पनि वृद्धि हुन्छ। यसले गर्दा नाफा अन्तत: स्वाभाविक रूपमा घटेर शून्यतरर्फ आउँछ। प्राकृतिक साधनहरूको पूर्ण उपयोग हुन्छ। लगानीका क्षेत्रहरू समाप्त हुन्छन्‌ ।लगानीका लागि पुँजीको माग कम हुने हुँदा ब्याजदर पनि घट्छ। ज्यालामा कमी आउँछ । कृषि उत्पादनमा पनि ह्रास आउँछ तर स्थायित्वपूर्ण अवस्थामा भने देखा पर्दछ।

(v) पुँजीवादको पतन:- शास्त्रीय सिद्धान्तका अनुसार अन्तत: पुँजीवादभित्र उद्यमीहरू आपसी प्रतिस्पर्धा र खिँचातानीले गर्दा आर्थिक विकासको प्रक्रिया अवरुद्ध हुन्छ। खाद्यान्नको आपूर्ति भन्दा माग बढी हुन्छ। मजदुरहरुलाई उत्पादनका अन्य साधनहरुलाई बढी मूल्य तिरेर खरिद गर्ने प्रवृत्ति बढेर जान्छ। नाफा घट्छ र आर्थिक विकासको प्रक्रिया अवरुद्ध हुन्छ। पुँजीवादको गिरावट र विनाश पनि यहीबाट पुनः सुरु हुन्छ।

 

(ग) आर्थिक बिकासको मार्क्सवादी सिद्धान्तको बारेमा विवेचना गर्नुहोस्‌ ।

उतर:-आर्थिक विकासको मार्क्सवादी सिद्धान्तका प्रतिपादन प्रसिद्ध अर्थशास्त्री कार्ल मार्क्सले गरेका हुन्। उनको यो सिद्धान्त  द्वन्दात्मक  भौतिकवादमा आधारित छ। उनको सिद्धान्तको प्रमुख अवधारणाहरु निम्नानुसार रहेका छन्:

(i) इतिहासको भौतिकवादी व्याख्या:- मार्क्सका अनुसार समाजमा आउने सबै किसिमका  परिवर्तनहरू समाजमा रहेका विभिन्न समूह र वर्गहरूबिच निरन्तर चलिरहने द्वन्द्वका परिणाम हुन्‌ जसलाई द्वन्द्वात्मक भौतिकवादको रूपमा व्याख्या गरिएको छ। समाजमा धनी (Haves) वा पुँजीपति र गरिब (Haves not) वा श्रमिक गरी दुई ओटा वर्ग हुन्छन्‌। उत्पादनको ढाँचा र उत्पादकको सम्बन्धले यी दुई वर्गहरूबिच द्वन्द्व उत्पन्न गराउँछ । समाजमा उत्पादनको ढाँचा र उत्पादनका साधनहरूको स्वामित्व सधैँ धनीवर्गको पक्षमा रहँदै आएको छ, जब कि उत्पादनको वास्तविक शक्ति श्रमशक्ति’ वा श्रमिकहरू भने सधैँ शोषित रहँदै आएका छन्‌। यस्तो अवस्थाले नै द्वन्द्वको सिर्जना गर्दछ ।

(ii) अतिरिक्त मूल्य:- पुँजीवादी समाजमा नाफा नै प्रेरणाको मुख्य स्रोत हुने हुँदा पुँजीपतीहरू श्रमिकहरूलाई सकेसम्म तिनको श्रमको वास्तविक मूल्यभन्दा यथासक्य कम मूल्य मात्र दिन्छन्‌। यसरी गरिएको श्रमको शोषणबाट पुँजीपतिलाई अतिरिक्त मूल्य (Surplus value) प्राप्त हुन्छ । यसैबाट पुँजीपतिहरू रातारात धनी बन्दछन्‌ भने श्रमिकहरू सधैँ गरिब नै रहन्छन्‌ । मार्क्सका अनुसार पुँजीवादी समाजमा पुँजी निर्माणको प्रमुख स्रोत नै श्रमको शोषणबाट प्राप्त हुने अतिरिक्त मूल्य हो। यही अतिरिक्त मूल्यको कोदालोले पुँजीपतिहरू आफ्नो चिहान आफैँ खन्दछन्‌।

(iii) पुँजी सञ्चय:- मार्क्सका अनुसार श्रमको अतिरिक्त श्रम घण्टाबाट प्राप्त अतिरिक्त मूल्यले पुँजीपतिको पुँजी सञ्चय कार्य अघि बढ्दछ । ऊ सकेसम्म अतिरिक्त मूल्य बढाएर आफूनो नाफा वृद्धि गर्न अग्रसर हुन्छ । यसरी प्राप्त हुन आउने बचतबाट मेसिन तथा उपकरणहरू खरिद गर्दछ र आफूनो नाफालाई बढाउन मेसिन तथा उपकरणहरूको प्रयोग बढाउँदै अनावश्यक श्रमिक सङ्ख्यालाई उत्पादन कार्यबाट हटाउन थाल्दछ।

(iv)पुँ जीवादी सङ्कट:- मार्क्सका अनुसार श्रमिक भनेको पुँजीपतिहरूलाई सुनको अण्डा दिने कुखुरी हो, तर पुँजीपतिहरू यसलाई नचिनेर श्रमिकहरूलाई मेसिनले प्रतिस्थापन गरी कामबाट हटाउन थाल्दछन्‌ । जस्ले गर्दा श्रमिकहरूको आय घट्न गई उपभोग र समग्र मागमा कमि आउँदछ। यसले गर्दा कम हुने बिक्रीबाट एकातिर पुँजीपतिहरूको अतिरिक्त मूल्यबाट प्राप्त हुने नाफा घट्दै जान्छ भने अर्कोतर्फ बेरोजगार श्रमिकहरू औद्योगिक संरक्षित सेना (Industrial Reserved Army) को रूपमा फैलँदै जान्छन्‌। यस्ता बेरोजजगारहरूसँग क्रयशक्ति नहुने हुँदा उत्पादित वस्तु तथा सेवाहरूको मागमा कमी आउँदछ। यसबाट बजार मूल्यमा कमी आउने, बजारको अभाव हुने उत्पादनमा कटौती हुने जस्ता समस्या देखा पर्दछन्‌ । पुँजीवादी अर्थतन्त्रको संरचनामा उतार-चढाव सुरु हुन्छ । मजदुरहरूको केन्द्रीकरण र समाजिकीकरणद्वारा समाजवादी क्रान्ति अघि बढ्छ। र सर्वहारावर्गको अधिनायकत्व स्थापित हुन्छ। जहाँ हरेक व्यक्तिले आफूनो क्षमताअनुसारको योगदान गरी राष्ट्रिय आयमा वृद्धि गराउँछ र हरेकले आफनो आवश्यकताअनुसार प्राप्त गर्दछ‌।

 

(घ) लेविसको श्रमको असीमित पूर्तिको सिद्धान्तको व्याख्या गर्नुहोस्‌ ।

उतर:- अर्थशास्त्री डब्लु ए. लेविसले अल्पविकसित राष्ट्रहरूमा भएको असीमित श्रमशक्तिलाई आर्थिक विकासमा उपयोग गर्नुपर्ने कुरामा जोड दिएका छन्। यसका प्रमुख अधारमाहरु निम्नुसार रहेका छन्:

(i) असीमित पूर्तिः- लेविसका अनुसार विकासशील राष्ट्रहरूको ग्रामीण कृषि क्षेत्रमा अदृश्य बेरोजगारको रूपमा रहेको श्रमशक्तिलाई नै आधुनिक औद्योगिक क्षेत्रको लागि आवश्यक पर्ने श्रमको पूर्ति गर्ने स्रोत हो। उनका अनुसार यस्ता राष्ट्रहरूको कृषि क्षेत्रमा अदृश्य बेरोजगारहरूको सङ्ख्या अत्याधिक हुने हुँदा यस्तो श्रमलाई आधुनिक औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्न सकिन्छ।

(ii) दुई क्षेत्र प्रारूप:- यो सिद्धान्तले मुख्यता: दुई ओटा क्षेत्रको परिकल्पना गरेको छ। एउटा कृषिमा आधारित जीवननिर्वाहमुखी ग्रामीण क्षेत्र र अर्को उद्योगधन्दामा आधारित पुँजीवादी तथा सहरी क्षेत्र। लेविसका अनुसार, “पुँजीवादी क्षेत्रले पुँजीगत वसतुको बढी प्रयोग गर्ने हुनाले श्रमको उत्पादकत्व निर्वाहमुखी कृषिक्षेत्रको भन्दा बढी हुन्छ। तसर्थ ग्रामीण क्षेत्रबाट स्थानान्तरण गरिएको श्रमलाई कृषि क्षेत्रमा भन्दा बढी ज्याला प्रदान गर्न सकिन्छ जुन ३० देखि ५० प्रतिशतसम्म बढी हुन सक्दछ।

(iii) श्रमिकहरूको ज्याला:- निर्वाह क्षेत्र र पुँजीवादी क्षेत्रको ज्यालादर भिन्न हुन्छ । निर्वाहमुखी क्षेत्रमा श्रमको औसत उत्पादकत्व कम हुने हुँदा ज्यालादर पनि कम हुन्छ । तर पुँजीवादी क्षेत्रमा उत्पादकत्व बढी भएकोले ज्याला र जीवनस्तर दुवै बढी हुन्छ । सहरमा अवस्थित हुने मानिसहरूको जीवनस्तर पनि माथि हुने हुँदा ज्यालादर पनि ३० देखि ५० प्रतिशतले बढी हनुपर्छ।

(iv) पुँजी सञ्चय प्रक्रिया:- अर्थिक विकासका लागि आवश्यक पर्ने पुँजीको सङ्कलनका लागि बचतको आवश्यकता पर्दछ। बचत र लगानी वृद्धि गरी तीव्र आर्थिक विकासका लागि पुँजी वृद्धि गर्न सकिन्छ । लेविसका अनुसार जीवननिर्वाह क्षेत्रबाट पूर्ति हुने असीमित श्रमशक्तिले स्थिर ज्यालादरमा औद्योगिक क्षेत्रमा काम गर्दै जान थालेपछि श्रमिकहरूको प्रतिव्यक्ति उत्पादकत्वबाट नै पुँजीपतिहरूले नाफाको रूपमा बचत प्राप्त गर्न थाल्दछ। सोही पुँजीलाई पुनः लगानी गरी उद्योग क्षेत्रको थप विस्तार हुँदै जान्छ। ज्यालादर बढ्दै जान्छ। यसबाट एकातिर उद्योग क्षेत्रको उत्पादकत्वमा र अनावश्यक भारको रूपमा लुकेर रहेको श्रमशक्तिको कटौतीले गर्दा कृषि क्षेत्रको श्रमको उत्पादकत्वमा समेत वृद्धि भई अर्थव्यवस्था अघि बढ्छ। यसरी पुँजीवादी अर्थव्यवस्थाको वृद्धि तबसम्म अघि बढ्छ, जबसम्म निर्वाह क्षेत्रबाट प्राप्त हुने असीमित श्रमशक्तिको पूर्ति रोकिँदैन । अत: विकासशील राष्ट्रहरूले आफूसँग भएको असीमिर् श्रमशक्तिलाई प्रयोग गरेर आर्थिक विकासतर्फ अग्रसर हुन सक्दछ।

Leave a Reply