पाठ-५ सार्वजनिक वित्त

सार्वजनिक वित्त

१. तल दिइएका प्रश्नहरूको अति छोटो उत्तर दिनुहोस्‌।

(क) कर भनेको केहो ?

उतर:– व्यक्ति वा संस्थाले राज्यलाई कुनै आर्थिक शीर्षकमा तिर्नुपर्ने अनिवार्य भुक्तान नै कर हो।

 

(ख) प्रत्यक्ष करका दुई उदाहरण दिनुहोस्‌ ।

उतर:- प्रत्यक्ष  करका दुई उदाहरणहरु सवारी कर, भूमि कर आदि हुन्।

 

(ग) सरकारी बजेटको परिभाषा दिनुहोस्‌ ।

उतर:- सरकारी बजेट भन्नाले, कुनै पनि देशको सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गर्ने सम्पूर्ण आय तथा व्यय सम्बन्धित  विवरण हो।

 

२. तलका प्रश्नहरूको छोटो उत्तर दिनुहोस्‌ :

(क) सरकारी खर्चको महत्त्वबारे छोटकरीमा व्याख्या गर्नुहोस्‌ ।

उतर:- देशको सम्पूर्ण स्रोत र साधनको उचित परिचालन गर्दै जनकल्याण बृद्धि गरी दिगो र वृहत आर्थिक विकास प्राप्त गर्नु सरकारी खर्चको मुख्य उद्देश्य रहेको हुन्छ । त्यसैले यसका महत्त्वलाई निम्न रूपमा प्रस्तुत गर्न सकिन्छ:

i)  आर्थिक समानता:- सरकारी खर्चमार्फत पिछडिएको वर्गले प्रत्यक्ष लाभ प्राप्त गर्ने योजनामा लगानी गरी धनी र गरिबबिचको फरकलाई कम गर्दै लान सकिन्छ।

ii)  पूर्वाधारको विकास:- भौतिक, सामाजिक तथा आर्थिक पूर्वाधार जस्तैः सडक सिँचाइ, उर्जा, शिक्षा, स्वास्थ्य, वित्तीय संस्था आदिको प्रवर्धन गर्न सरकारी खर्च आवश्यक हुन्छ।

iii)  साधन परिचालन:- बृहत विकासको लागि देशमा उपलबब्ध स्रोत र साधनको अत्याधिक परिचालन हुनुपर्छ । जसका लागि सरकारले खनिज, विद्युत्‌, कृषि जस्ता क्षेत्रसँग सम्बन्धित परियोजना सञ्चालन गर्न खर्च आवश्यक हुन्छ।

iv)  सामाजिक कल्याण:- निजी क्षेत्रको लगानी नाफा मुलक हुने हुनाले कम नाफा दिने क्षेत्रहरू जस्तै: खानेपानी, सडक आदिको प्रवर्धन गर्न सरकारी खर्च आवश्यक हुन्छ।

v)  दिगो आर्थिक वृद्धि:- विभिन्न समयमा आउने आर्थिक उतारचढावले निजी क्षेत्र बिचलित हुन सक्ने हुनाले त्यस्ता आर्थिक समस्या समाधान गर्न र निजी क्षेत्रको प्रतिस्पर्धी क्षमता बढाउन सरकारी खर्च आवश्यक हुन्छ।

यसका साथै:

vi)  शान्ति सुरक्षा कायम गर्नु,

vii)  दैनिक प्रशासन सञ्चालन गर्नु,

viii)  सामाजिक सचेतना वृद्धि गर्न आदि काममा सरकारी खर्च आवश्यक रहन्छ।

 

(ख) प्रगतिशील कर र समानुपातिक करका कुनै दुई भिन्नता लेख्नुहोस्‌ ?

उतर:– प्रगतिशील कर र समानुपातिक करका कुनै दुई भिन्नता निम्नलिखित छन्:

i)  प्रगतिशील करको दर आवश्यकताअनुसार बढाउन वा घटाउन सकिन्छ भने समानुपातिक प्रणालीमा करको दर समान  रहने हुँदा भुक्तान गर्न सजिलो हुन्छ।

ii)  प्रगतिशील कर प्रणालीमा धनीले बढी कर र न्यून आय हुनेले कम कर तिर्दछ भने समानुपातिक करमा सबैलाई समान दरमा कर लगाइने हुँदा कर सङ्कलन कार्य सहज हुन्छ।

 

३. निम्न लिखित प्रश्नहरूको लामो उत्तर दिनुहोस्‌ :

(क) सरकारी आयका स्रोतहरू उल्लेख गर्नुहोस्‌।

उतर:- सरकारले विभिन्न स्रोतहरुबाट आय प्राप्त गर्ने गर्दछ। सरकारले प्राप्त गर्ने आयलाई सामान्यतया निम्न तीन खण्डमा वर्गीकरण गरिएको हुन्छ:

(a) कर राजस्व

:- कुनै प्रकारको प्रत्यछ् लाभको आशा नराखी करदाताले सरकारलाई तिर्ने अनिवार्य भुक्तानीलाई कर भनिन्छ। कर राजस्वलाई सरकारको आम्दानीको प्रमुख स्रोतका रूपमा लिइन्छ। यसअन्तर्गत सरकारले निम्न लिखित स्रोतहरूबाट कर आय प्राप्त गर्दछ:

i) भन्सार महसुल:– दुई वा दुईभन्दा बढी देशहरूबीच वस्तु तथा सेवाको आयात तथा निर्यात गर्दा सरकारले सीमा नाकाहरूमा लगाउने करलाई भन्सार शुल्क भनिन्छ। जनस्वास्थ्यलाई खराब गर्ने उपभोग्य वस्तु जस्तै रक्सी, चूरोट आदि भुक्तान सन्तुलनमा प्रतिकूल प्रभाव पार्ने आयातित वस्तु आदिमा महसुल लगाइन्छ।

ii)  उत्पादन तथा उपभोग कर:- करको दायरा फराकिलो बनाउन सरकारले वस्तु तथा सेवाको उत्पादन तथा उपभोगमा विभिन्न किसिमका कर लगाउन सक्छ। वस्तु तथा सेवाहरुमा मुख्यतया: मूल्य अभिवृद्धिकर, बिक्री कर, मनोरञ्जन कर, ठेक्का कर, अन्तशुल्क, सडक कर आदि पर्दछन्।

iii)  भूमि तथा रजिष्ट्रेशन शुल्क:- यसअन्तर्गत घर-घडेरी, खेतीपाती तथा अन्य जमिनमा लाग्ने भूमि कर, घरजग्गा खरिद बिक्री गर्दा सरकारले लिने कर, भूमि दर्ता तथा नयाँ घर बनाइने घर दर्ता गर्दा लाग्ने करहरु पर्दछन।

iv)  सम्पत्ति, नाफा र आएकर:- सम्पत्ति करअन्तर्गत शहर वा नगरमा निर्माण भएका घरहरूको घर कर, भूमि कर, गाडीहरुमा लाग्ने सवारी कर आदि पर्दछन्। त्यस्तै व्यक्ति वा संस्थाले आर्जन गरेको आम्दानीमा लाग्ने विभिन्न दरका करहरु र बैङ्कमा निक्षेप संकलन गर्दा प्राप्त हुने ब्याज रकममा लाग्ने कर सरकारको आय करअन्तर्गत पर्दछन्।

 

(b)  गैरकर राजस्व

:- गैरकर राजस्व प्राप्त आय कर   राजस्वबाट प्राप्त आएको गैरकर राजस्व निम्न शीर्षकहरुबाट प्राप्त हुन्छ:

i)  शुल्क तथा अनुमति पत्र:-शूल्क भन्नाले सरकारले प्रदान गरेको विशेष सेवा उपभोग गरेवापत नागरिकले तिर्नुपर्ने भुक्तानीलाई बुझाउँछ। उदाहरणको लागि सवारी साधन चलाउनका लागि चाहिने अनुमतिपत्र  लिने व्यक्ति ले सो सुविधाबापत सरकारलाई तिर्नुपर्ने शुल्क लाई लिन सकिन्छ।

ii)  दण्ड तथा जरिवाना:-देशभित्र शान्ति सुरक्षा कायम गर्न कानुन उलंघन गर्ने वा समयमा गर्नुपर्ने कार्य वा भुक्तानी  नगर्नेलाई कानुनबमोजिम दण्ड र जरीवाना लगाइन्छ। यस वापत प्राप्त रकम पनि सरकारी आएको स्रोत हो।

iii)  सरकारले उत्पादनबाट प्राप्त हुने आय:-सरकारको लगानीमा स्थापना भएका सार्वजनिक संस्थाहरुले वस्तु र सेवा उत्पादन तथा बिक्री गरी आय प्राप्त गर्न सक्दछ। उदाहरणका लागि नेपाल टेलिकम, दूग्ध विकास संस्थान, नेपाल आयल निगम जस्ता संस्थाहरुले वस्तु र सेवा बिक्री गरी प्राप्त हुने आम्दानी सरकारी आएको स्रोतका रूपमा लिइन्छ।

iv)  अन्य श्रोतहरू:-सरकारलाई कुनै पनि व्यक्ति संस्था तथा देशले स्वेच्छिक रुपमा प्रदान गर्ने उपहार तथा अनुदानहरु जस्तै: भूकम्प, बाढीपहिरो, भूक्षय कारण विस्तापितलाई सहयोग गर्न दिएको अनुदान तथा सन्तान नभएका व्यक्ति तथा भङ्ग भएको संगठन जसमा कसैलेपनि हकदाबी गर्दैन, त्यस्तो खालको सम्पत्ति सरकारको आम्दानीका रूपमा लिइन्छ।

 

(c)  )वैदेशिक सहायता

:- विकासोन्मुख देशहरुका लागि वैदेशिक सहायता पनि सरकारी आएको एउटा प्रमुख स्रोत मानिन्छ। यसअन्तर्गत विदेशी राष्ट्र तथा संस्थाहरुबाट अनुदान तथा ऋण का रूपमा प्राप्त आयलाई समावेश गरिन्छ।

 

(ख)  सरकारी खर्चका क्षेत्रहरू के के हुन्‌ व्याख्या गर्नुहोस्‌।

उतर:- देशको चौतर्फी विकासको लागि सरकारले विभिन्न क्षेत्रहरूमा खर्चको व्यवस्था गरेको हुन्छ। सरकारको खर्चले ओगट्ने क्षेत्रहरू निम्नानुसार छन्‌:

i)  सुरक्षात्मक कार्य:- देशको स्वतन्त्रता, सार्वभौमिकता र राष्ट्रियता जोगाउन तथा देशभित्र शान्ति सुरक्षाको व्यवस्था गर्न एवम्‌ वाहय आक्रमणबाट हातहतियारको व्यवस्था गर्न सरकारी खर्च अति महत्त्वपूर्ण हुने हुँदा सुरक्षात्मक कार्यमा गरिने खर्च एक प्रमुख क्षेत्र हो।

ii)  आर्थिक कार्य:- देशमा उद्योग व्यवसायको विकासगर्नु देशको समग्र आर्थिक विकासको लागि महत्त्वपूर्ण हुन्छ । उद्योग धन्दाको विकासको लागि आवश्यक पर्ने सडक, सञ्चार, विद्युत, पानीको व्यवस्था गर्ने, बैङ्किग तथा मौद्रिक व्यवस्था मिलाउने कार्यका लागि पनि सरकारले खर्च गर्दछ ।

यसबाहेक कृषि विकासका लागि मल, बिउ, औजार, उपलब्ध गराउने, पशुपालन, फलफुल खेती आदिमा सहयोग गर्ने र आर्थिक विकासका लागि आवश्यक नीति नियम बनाउने कार्य पनि गर्दछ । यी सबै कार्यहरूका लागि सरकारले ठूलो रकम खर्च गर्नु पर्दछ ।

iii)  सामाजिक कार्य:- समाजको लागि उपयोगी तर आर्थिक लगानीका दृष्टिले नाफा प्राप्त नहुने कार्यहरूमा पनि सरकारले खर्चको व्यवस्था गर्नुपर्दछ। स्कूल, कलेजहरूको स्थापना, स्वास्थ्य सेवाहरूको व्यवस्था, नाचघर, रङ्गशाला आदिको निर्माण गर्न पनि सरकारले ठूलो रकम खर्च गर्नुपर्दछ। यसबाहेक बाढी, पहिरो, भू-कम्प जस्ता दैवी विपत्तिमा सहयोग गर्न तथा समाजमा असहाय अशक्त र विधवा आदिका लागि आर्थिक सहयोग गर्ने व्यवस्थाका लागि पनि सरकारले खर्च गर्नु पर्दछ।

iv)  प्रशासनिक कार्य:- सरकारले राष्ट्रको दैनिक कामकाज चलाउन न्याय प्रशासन, कर्मचारी प्रशासन, आर्थिक प्रशासन, सैनिक प्रशासन आदिको व्यवस्था गरेको हुन्छ । यी सबै प्रशासनिक व्यवस्था मिलाउन, कर्मचारी, सेना, प्रहरीलाई तलब खुवाउन र आवश्यक सरसामान खरिद गर्न पनि सरकारले खर्चको ठूलो मात्रा व्यवस्था गर्नुपर्दछ ।

यसरी सुरक्षात्मक कार्य, आर्थिक कार्य, सामाजिक कार्य र प्रशासनिक कार्यहरू गर्न सरकारी खर्चको व्यवस्था गरिएको हुन्छ, जसलाई सामाजिक खर्चको क्षेत्र भनिन्छ ।

 

(ग)  प्रत्यक्ष कर भनेको के हो ? यसका गुण र अवगुणहरू छोटकरीमा चर्चा गर्नुहोस्‌।

उतर:- कुनै कर प्रणालीमा करको भार र प्रभाव दुबै एकै व्यक्ति वा करदाताले वहन गर्नुपर्दछ भने त्यस्तो करलाई प्रत्यक्ष कर भनिन्छ । अर्को शब्दमा करको भार करदाताले अन्य व्यक्ति वा संस्थालाई हस्तान्तरण गर्न सक्दैन । कुनै पनि कर प्रणालीका आफ्नै विशेषताहरू र सबल एवम्‌ दुर्बल पक्षहरू रहेका हुन्छन्‌ । यसका गुण र अवगुणहरु तल छोटकरीमा व्याख्या गरिएका छन्:

गुणहरू (फाइदाहरू)

:-प्रत्यक्ष करका गुणहरू निम्नानुसार छन्‌:

i)  प्रगतिशील:- बढी आर्थिक लाभ प्राप्त गर्नेले बढी कर र कम आर्थिक लाभ प्राप्त गर्नेले कम कर तिर्नुपर्ने भएकोले प्रत्यक्ष कर प्रगतिशील मानिन्छ ।

ii)  समानता:- बढी आय हुनेलाई धेरै र कम आय हुनेलाई कम दरमा कर लगाइने भएकोले यस्तो करले समाजमा आर्थिक विभेदलाई कम गर्न सहयोग गर्दछ ।

iii)  मितव्ययी:- प्रत्यक्ष कर करदाता आफैँले तिर्ने हुनाले कर सङ्कलनमा राज्यले धेरै स्रोत परिचालन गर्नु नपर्ने हुदाँ यस्तो कर प्रणाली मितव्ययी मानिन्छ।

iv)  निश्चितता:- प्रत्यक्ष करदाताले आफ्नो आय, सम्पत्ति, सवारी आदिको ‘आधारमा तिर्नुपर्ने कर रकम, समय र स्थानको बारेमा पूर्ण जानकारी राख्ने हुनाले निश्चितता रहेको हुन्छ।

v)  लोचदार:- प्रत्यक्ष करको दर र दायरा वृद्धि गरी कर राजस्वमा सजिलै वृद्धि गर्न सकिने हुनाले यसलाई लोचदार मानिन्छ।

अवगुणहरु (बेफाइदाहरू)

:- प्रत्यक्ष करका निम्न बेफाइदाहरू रहेका छन्‌:

i)  करदाताका लागि कठिनाइ:- प्रत्यक्ष करको भार करदाताले अन्य व्यक्तिमा सार्न नसक्ने भएकोले करदाताले करको सम्पूर्ण आर्थिक प्रभाव वहन गर्नुपर्ने हुन्छ ।

ii)  करछलीको सम्भावना:- प्रत्यक्ष करको भारलाई अन्य व्यक्तिमा सार्न नमिल्ने हुनाले करदाताले करको बोझबाट बच्न कर छली गर्ने सम्भावना अधिक रहेको हुन्छ ।

iii)  आर्थिक हतोत्साह:- व्यक्तिले प्राप्त गरेको आयबाट प्रत्यक्ष कर पुन: सरकारलाई भुक्तान गर्नुपर्ने हुनाले करदाताले आर्थिक रूपले हतोत्साही महसुस गर्दछ ।

iv)  सीमित क्षेत्र:- प्रत्यक्ष कर अप्रत्यक्ष वा वस्तुकरको तुलनामा अत्यन्त सीमित क्षेत्रमा लगाइएको हुनाले करको दायरा साँघुरो हुने गर्दछ ।

v)  स्वेच्छाचारी:- प्रगतिशील वा समानुपातिक कुनै पनि प्रणालीको प्रत्यक्ष कर अर्थ अधिकारीहरूको निजी निर्णयमा आधारित हुने हुनाले यस्तो कर स्वेच्छाचारी प्रवृत्तिको मानिन्छ।

 

(घ)  प्रगतिशील करको परिभाषा दिई यसका गुण र अवगुणहरू व्याख्या गर्नुहोस्‌।

उतर:- नागरिकको आम्दानी बढ्दै जाँदा करको दर पनि क्रमशः वृद्धि हुने तथा आम्दानी घट्दै जाँदा करको दर पनि घट्दै जाने कर प्रणालीलाई  प्रगतिशील कर प्रणाली भनिन्छ। प्रगतिशील करको गुण र अवगुणहरु निम्नलिखित छन्:

प्रगतिशील करका गुणहरु

i)  यो करको दर आवश्यकताअनुसार बढाउन वा घटाउन सकिन्छ।

ii)  यस कर प्रणालीमा न्यून खर्चमा पनि अधिक कर उठाउन सकिन्छ।

iii)  यस करका माध्यमद्वारा धनी र गरिबबिचको असमानता कम गर्न सकिन्छ।

iv)  यो कर प्रणालीमा धनीले बढी कर र न्यून आय  हुनेले कम कर गर्दछ।

प्रगतिशील करका अवगुणहरु

i)  यो करले धनीहरुलाई निरुत्साहित गरी समाजमा बचत तथा लगानीमा कटौती गर्दछ।

ii)  कर दाताले उच्च मात्रामा कर तिर्न नचाहने कारण कर छल्ने प्रवृत्तिको विकास हुन सक्छ।

iii)  यो करको दर वर्षैपिच्छे परिवर्तन हुन सक्ने हुँदा स्थायित्व कम हुन्छ।

 

(ङ)  सरकारी बजेट कसरी निर्माणका प्रक्रियाहरू उल्लेख गर्नुहोस्‌।

उतर:- बजेट भन्नाले सरकारको आगामी आर्थिक वर्षको लागि अनुमानित खर्च र आयको विवरणलाई बुझाउँदछ जसको निर्माण प्रक्रिया नेपालको सन्दर्भमा निम्तअनुसार रहेको छ।

i)  आय व्यायको अनुमान:- बजेट निर्माणमा सर्वप्रथम आगामी आर्थिक वर्षको लागि अनुमानित खर्चको विवरण तयार गरिन्छ। सो अनुमानको लागि अर्थ मन्त्रालयमा रहेको बजेट शाखाले विभिन्न बिभाग, मन्त्रालय तथा कार्यालयहरूलाई बजेटको लागि फारम वितरण गरी अनुमानित खर्च र आयको विवरणको लागि अनुरोध गर्दछ । यसरी सङ्कलन हुने विवरणको आधारमा बजेटको आय व्यय अनुमान गरिन्छ।

ii)  प्राथमिकता निर्धारण:- अनुमानित आय व्ययको विवरण सङ्कलन पछि बजेटमा प्राथमिकताको क्रम निर्धारण गरिन्छ। यस्तो क्रम चालु योजनाको उद्देश्य र प्राथमिकताबाट पनि निर्देशित हुन्छ। तसर्थ यस चरणमा अर्थमन्त्रालयले राष्ट्रिय योजना आयोगसँग समन्वय गरी प्राथमिकता निर्धारण गर्दछ किनकी सबै क्षेत्र र पक्षहरूमा पर्याप्त बजेट प्रदान गर्न सकिँदैन।

iii)  योजना छनोटः- बजेट निर्माणको प्राथमिकता क्रम निर्धारणको चरणपछि विभिन्न योजनाहरू छनोट गरिन्छ। यस्तो छनोटलाई प्राथमिकता क्रमले निर्देशित गर्दछ। विभिन्न आर्थिक क्षेत्रको आवश्यकता भौगोलिक तथा जनसाङ्ख्यिक आवश्यकता र आवधिक चालु योजनाको उद्देश्य अनुरूप योजना छनोट गरिन्छ।

iv)  छलफलः-उपयुक्त छनोटपश्चात्‌ तिनको विषयमा सम्बन्धित सरोकारवाला, विषय विज्ञ, दातृ निकायका प्रतिनिधि, मन्त्रालय तथा विभागका प्रतिनिधि, राष्ट्रिय योजना आयोगका प्रतिनिधिहरूको सहभागितामा अर्थ मन्त्रालयहरूले छलफलको आयोजना गर्दछ यस्तो छलफलले योजनाहरूको सम्भाब्यता र स्रोतको निर्धारण गर्न सहयोग पुग्याउँदछ।

v)  करको नयाँ प्रस्ताब:-हरेक वर्ष वृद्धि हुँदै जाने सरकारी खर्चको आकारसँगै आयमा पनि वृद्धि गर्नुपर्ने आवश्यकता रहेको हुन्छ र करनै सरकारी आयको मुख्य अंश रहेकोले करको दर तथा आधारहरूमा नयाँ प्रस्तावहरू निर्माण गरिन्छ र बजेटमा समावेश गरिन्छ।

vi)  अन्तिम बजेटः-माथि उल्लेखित चरणहरूबाट अर्थ मन्त्रालयलाई अन्तिम बजेट निर्माणको लागि पूर्ण अधिकार तथा मार्गदर्शन प्राप्त हुन्छ तसर्थ बजेट शाखाले आगामी आर्थिक वर्षको लागि उपयुक्त बजेट निर्माण गर्दछ । यसरी निर्मित बजेट दस्तावेज अर्थमन्त्रीले संसदको दुवै सदनको संयुक्त बैठकमा पेस गर्दछन्‌ र स्वीकृतिको लागि अनुरोध गर्दछन्‌ ।

vii)  प्रमाणीकरण र कार्यान्वयनः-आवश्यक छलफल र परिमार्जन पछि संसदको बहुमत द्वारा पारित गरिएको बजेटलाई राष्ट्रपतिद्वारा स्वीकृति गरेपछि कानुनी मान्यता प्राप्त गर्दछ। यसरी मान्यता प्राप्त बजेटलाई अर्थमन्त्रालयले विभिन्न मन्त्रालय, विभाग,  प्रादेशिक र स्थानीय तह मार्फत कार्यान्वयनको लागि निर्देशन तथा अनुरोध गर्दछ ।

 

(च)  असल कर प्रणालीका सिद्धान्तहरू व्याख्या गर्नुहोस्‌।

उतर:- सामान्यतया करले खर्चयोग्य आयमा कटौति गर्ने वा उत्पादन लागत बढ्न गई मूल्य र नाफामा प्रभाव पार्दछ। यस्ता प्रभावहरू कम गर्न कर लगाउँदा निम्न सिद्धान्तहरू ध्यानमा राख्नुपर्दछ।

i)  समानताको सिद्धान्त:-समानताको सिद्धान्तले करको दर वा मात्रा तिर्न सक्ने क्षमताअनुसारको हुनुपर्ने कुरामा जोड दिन्छ जसले समाजमा आर्थिक समानता कायम गर्न मद्दत पुग्दछ।

ii)  निश्चितताको सिद्धान्त:-एउटा राम्रो कर प्रणाली निश्चित प्रकृतिको हुनु पर्दछ । करदाताका लागि कर तिर्ने स्थान, संस्था, करको दर, समय सीमा आदि सूचना पर्याप्त प्रदान गरिनुपर्दछ।

iii)  मितव्ययीताको सिद्धान्त:-कर सङ्कलन गर्न लाग्ने खर्च न्यूनतम हुनुपर्दछ। यदि कर आयको तुलनामा ठुलो खर्च कर सङ्कलनमा आवश्यक हुन्छ भने आर्थिक उत्पादकत्व बढ्न सक्दैन।

iv)  सरल पहुँचको सिद्धान्त:-यस सिद्धान्तले कर भुक्तान गर्ने स्थान, प्रणाली, समयावधि, आदि करदाताको सरल पहुँचमा हुनुपर्ने कुरामा जोड दिन्छ।

v)  उत्पादनशिलताको सिद्धान्त:-करको कारणले उत्पादनको मूल्य वृद्धि भई समग्र माग, रोजगारी, लगानी र उत्पादनमा कमी आउनु हुँदैन।

यसैगरी असल करमा लचकता, सरलता, विविधता, एकरूपता जस्ता गुणहरू हुनु आवश्यक छ।

This Post Has One Comment

  1. Sunit

    All subjects class ten exercise

Leave a Reply