पाठ-४
थाङ्का
१. तलका शब्दलाई वाक्यमा प्रयोग गर्नुहोस् :
सौन्दर्य, बहसांस्कृतिक, समृद्ध, व्यापक, मन कामना, अनिष्ट, योगदान, मौलिक, आस्था, प्रतीक, अप्राप्य, क्षति
उत्तर:-
सौन्दर्य :- नेपालको जस्तो प्राकृतिक सौन्दर्य विश्वमै दुर्लभ छ ।
बहुसांस्कृतिक:- नेपाल एक बहुसांस्कृतिक मुलुक हो ।
समृद्ध:- नेपाल समृद्ध बन्छ भन्ने कुरामा कसैको दुई मत छैन ।
व्यापक:- नेपालको कला तथा संस्कृतिका बारेमा व्यापक बहस हुन थालेको छ ।
मनकामना:- मनकामना पुरा होस् भनी हामी ईश्वरको पूजा आराधाना गछौँ ।
अनिष्ट:- परम्परावादीहरू परिवारमा अनिष्ट नहोस् भनी कुल पूजा गर्छन् ।
योगदान:- चित्रकलाको विकासमा थुप्रै व्यक्तिहरूले योगदान दिइएका थिए ।
मौलिक:- नेपालमा चित्रकलाको आफ्नै मौलिक परम्परा रहेको छ ।
आस्था:- नेपालीहरूका आस्थाका केन्द्र मानिएका पशुपति नाथको दर्शन गर्न जो कोही लालायित हुन्छन् ।
प्रतीक:- आस्थाका प्रतीक मानिएका मन्दिरहरूक्रो संरक्षण गर्नु सबैको कर्तव्य हो ।।
अप्राप्य:- संसारमा आमाबाहेक अप्राप्य वस्तु केही छैन ।
क्षति:- संसारमा हरेक वर्ष भूकम्पले ठुलो क्षति पुग्याउने गरेको छ
२. तलका प्रश्नको उत्तर लेख्नुहोस् :
(क) थाङकाको सुरूआत र विकास के कसरी भएको हो?
उतर:- थाङ्काको सुरूआत दसौँ शताब्दीतिरबाट भएको मानिन्छ । त्यतिखेर नेपाल र तिब्बतबीच स्वतन्त्र आवागमन थियो । नेपालका मानिस तिब्बत जाने र तिब्बतका मानिस व्यापारका लागि नेपाल आउने गर्दथे । त्यतिबेला नेपाल तथा तिब्बतका बौद्धमार्गीहरूमा कपडामा लेखिएका देवी देवताको पूजा गर्ने चलन थियो । त्यसपछि त्यस कपडालाई टिकाउ र कलात्मक बनाउने क्रममा थाङकाको सुरूआत भयो।
(ख) “थाङ्का लेखनको सुरूआतदेखि नै नेपाली कलाकारहरूको संलग्नता थियो‘ पुष्टि गर्नुहोस् ।
उतर:- थाङकाको सरूआत दशौं शताब्दीदेखि भएको हो । नेपाल र तिब्बतबीच स्वतन्त्र आवागमन र व्यापारिक सम्बन्ध थियो । त्यतिबेला नेपाल तथा तिब्बतका बौद्धमार्गीहरूमा कपडामा लेखिएका देवी देवताको पूजा गर्ने चलन थियो । पहिले पहिले नेपालीहरूले सामान्य कपडामा सामान्य चित्र कोर्थे । पछि त्यसलाई टिकाउ र कलात्मक बनाउन थालियो त्यसपछि तिब्बत र चिनका बौद्धमार्गीहरूले नेपालबाट कलाकारहरू मगाएर कला सिर्जना गर्न लगाए । त्यसपछि नेपाली कलाकारहरूले तिब्बत र चिनमा गएर थाङ्का निर्माण गर्न थाले । तसर्थ थाङ्का लेखनको सुरूआत देखि नै नेपाली कलाकारहरूको संलग्नता थियो भन्ने पुष्टि हुन्छ ।
(ग) थाङ्का के-को प्रतीक हो?
उतर:- थाङ्का मुलत: आस्थाको प्रतीक हो । विशेषतः यो बौद्धधर्मसँग सम्बन्धित छ । बौद्धधर्ममा पञ्चबुद्ध, वज्रसत्त्व, अवलोकितेश्वर, मैत्रेयी, मञ्जुश्री वज्र बाणि, तारा आदि पर्दछन् । शाक्यमुनि बुद्धको जीवनीदेखि महापरिनिर्माणसम्म र मण्डलका थाङकाहरू बनाएर बुद्धधर्मप्रति आस्था प्रकट गर्ने प्रचलन व्यापक रहेको छ । आज थाङ्का बुद्धर्मावलम्बीहरूका बिच शान्ति, सद्भाव र एकताको प्रतीक बनेको छ भने नेपालका लागि व्यवसायको प्रतीक बन्दै गएको छ । यसबाट नेपाली कलाकारहरूको व्यवसाय एकातिर फस्टाइरहेको छ भने अर्कातिर बुद्धधर्म, दर्शन र विचारप्रति आस्था जगाउने माध्यम पनि बनेको छ ।
(घ) थाङ्का बौद्धमार्गीहरूमा लोकप्रिय हुनाका कारणहरू के-के हुन्?
उत्तरः- थाङ्का बौद्धमार्गीहरूमा लोकप्रिय हुनाका कारण थुप्रै छन् । एक त यो बुद्धप्रति आस्था जगाउने हिसाबले तयार गरिन्छ भने अर्कातिर बुद्धका रूप र बिचारको अभिव्यक्ति गर्ने माध्यम समेत भएकाले यो लोकप्रिय बनेको पाइन्छ । थाङ्का बौद्धमार्गीहरूका लागि आस्था र शान्तिप्रेमीहरूका लागि शान्तिको प्रतीक बनेको छ । गुम्बाहरूमा र घर घरमा समेत थाङ्कालाई सजाइन्छ र आस्थापूर्वक पुजिन्छ । लामा बौद्ध समुदायमा त हरेक मृतकका नाममा एउटा थाङ्का अनिवार्य रूपमा चाहिन्छ । आफ्ना इष्ट देवताअनुसार अलग अलग थाङ्का चाहिन्छ र मृतकका नामको थाङ्का घरमा राखेर पूजा गरिन्छ वा गुम्बाहरूमा चढाइन्छ । यसरी धार्मिक क्रियाकलापमा आवश्यक पर्ने र यसको निर्माण तथा उपलब्धता समेत सहजै हुनु नै थाङ्का बौद्धमार्गीहरूमा लोकप्रिय हुनाका कारण हुन् ।
(ङ) किन बैौद्धमार्गीबाहेक अरूले समेत थाङ्कालाई मन पराउँछन्?
उत्तरः- थाङ्का विशेषतः बौद्धमार्गीहरूमा धेरै नै लोकप्रिय भए पनि अरूले समेत मन पराउन थालेका छन् । एकातिर बुद्धधर्मकै हिन्दु धर्म उदार विचार र मान्यता हो भने त्यसले अँगाल्ने कुरालाई अरूले अनुसरण गर्नु कुनै नौलो कुरा होइन । त्यसैले बौद्धमार्गी बाहेक अरूले पनि यसलाई अँगाल्न थालेका छन् । अन्य धर्मालवम्बीहरूले आफ्नो आस्थालाई कलात्मक र व्यवस्थित रूपमा अभिव्यक्ति दिने माध्यमका रूपमा थाङ्कालाई अँगाल्न थालेको पाइन्छ । यसको सामग्री सहजै उपलब्ध हुने र व्यावसायिक रूपमा सञ्चालन गर्न सकिने भएकाले यो अन्य समुदायले समेत मन पराउँछन् ।
३. थाङ्काको प्रवर्धन गर्न सक्दा नेपाललाई के-कस्ता फाइदा हुन्छन्, विवेचना गर्नुहोस् ।
उत्तर:- थाङ्काको प्रवर्धन गर्न सके नेपाललाई धेरै फाइदा हुन सक्छन् । नेपालीहरूको मौलिक चित्रकलामा आधारित थाङ्काको प्रवर्धन गर्न सके यसले व्यावसायिक रूप लिन सक्ने देखिन्छ । आजको कोलाहलयुक्त विश्वमा शान्तिका अग्रदूत गौतम बुद्धका दर्शन र मान्यताहरूले सबैलाई आकर्षित गर्नु स्वाभाविक बन्न गएको छ । तिनै गौतम, बुद्धका अनुयायीहरूले कलात्मक र व्यवस्थित रूपमा विकसित हुँदै आएको थाङ्कालाई धेरै मानिसहरूले व्यवसायका रूपमा अँगाल्दै आएका छन् । अर्को शब्दमा भन्दा आज धेरै नेपालीहरू थाङ्का व्यवसायमा आश्रित छन् ।
थाङ्काको निर्माण गर्न धेरै अर्थ र ठाउँको पनि आवश्यकता पर्दैन । सजिलै र सस्तो मूल्यमा तयार गर्न सकिने भएकाले यसप्रति धेरैको आकर्षण बढ्दै गएको छ । बुद्धमार्गीहरू मात्र होइन आजभोलि अरू जातिका मानिसहरू पनि यसमा संलग्न हुन थालेका छन् । थाङ्का व्यवसायमा अपाङ्गता भएका व्यक्तिहरू समेत संलग्न हुन थालेका छन् । आज हजारौं मानिसहरूले यसलाई पूरक पेसा बनाएका छन् ।
आज पर्यटकहरूको पनि थाङ्काप्रति आकर्षण बढ्दो छ । नेपालमा मात्र होइन विदेशमा पनि अरबौँ रपियाँका थाङ्का बिक्री हुन्छन् । संसारमा थाङ्काका साथसाथै बुद्धसम्बन्धी मूर्तिहरूको पनि माग बढ्दै जान थालेको छ । कतिपय बौद्धमार्गीहरू थाङ्काका साथै बुद्धका मूर्तिहरू पनि साथसाथै लैजाने गर्छन् । नेपालमा बुद्धसम्बन्धी मूर्तिहरूको पनि उत्पादन हुने गरेको छ । बुद्ध र भृकुटीको जन्मथलो, कतिपय बुद्ध गुरुहरूको कर्म र ज्ञान थलोका रूपमा रहेको नेपाल संसारभरकै बौद्धमार्गीहरूको प्रमुख गन्तव्य भएकाले थाङ्का र बुद्धसम्बन्धी मूर्तिहरूको उत्पादन प्रवर्धन गर्नु आजको आवश्यकता हो । यसको विकास गर्न सके संसारभरको मागलाई पुरा गर्न सकिने छ र यसो गर्न सके नेपालका लागि वरदान साबित हुने कुरा पनि स्पष्ट छ ।
४. व्याख्या गर्नुहोस् :
(क) जहाँ विविधता हुन्छ, त्यहाँ अनेक सम्भावना पनि हुन्छ ।
उतर:- नेपाल भौगोलिक, जातीय, भाषिक, धार्मिक आदि दृष्टिले बहु आयामिक प्रकृतिको मुलुक हो । यही विविधताभित्र सौन्दर्यको रूप भेट्ने सकिन्छ । विविधताले अनेक समस्या निम्त्याउने सम्भावना त हुन्छ नै त्यसभित्र अनेक राम्रा सम्भावनाहरू पनि त्यत्तिकै हुन्छन् भन्ने कुरालाई यहाँ प्रस्तुत गरिएको छ ।
भौगोलिक दृष्टिले नेपाल विविधतायुक्त देश हो । यो देश हिमाल, पहाड र तराई मिलेर बनेको छ । अथाह हिमाली, सौन्दर्य र जलस्रोतका खानी मानिएको हिमालले संसारभरका मानिसहरूलाई आकर्षित गर्ने क्षमता राख्छ । । त्यस्तै नेपालको पहाडी क्षेत्रमा जडीबुटी, खनिज पदार्थ, फलफुल र स्वस्थ पर्यावरण रहेको छ । यस क्षेत्रले पनि नेपालको विकासमा प्रशस्त योगदान दिन सक्छ । त्यसैगरी तराई अन्नको भण्डार मानिन्छ । यतिमात्र होइन नेपाल एक बहजातीय, बहुभाषिक, बहुधार्मिक बहुसांस्कृतिक देश हो । नेपालको पहिचान सगरमाथाको देश, गौतम बुद्धधो देश, वीर वीरङ्गानाहरूको देश जस्तै विविधतामा एकता भएको देश हो । यस्ता विविधताले युक्त देश नेपालको विकासमा प्रशस्त सम्भावनाहरू रहेका छन् । अथाह जलय्रोतबाट बिजुली निकाल्न सकिन्छ भने पहाडी क्षेत्रबाट खनिज तथा उद्योग धन्दाका लागि कच्चा पदार्थ उत्पादन गर्न सकिने सम्भावना छ । हिमाल र पहाडी क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सके अनि तराईलाई औद्योगिक क्षेत्रमा परिणत गरे देशको मुहार फेरिन बेर लाग्दैन ।
अनेक जातजाति, धर्म संस्कृतिले युक्त नेपालप्रति विश्वको ध्यान आकर्षित गर्ने विश्वको सर्वोच्च शिखर सगरमाथा, शान्तिका अग्रदूत गौतम बुद्ध र वीर वीरङ्गानाहरूको जन्मस्थलका रूपमा विश्व परिचित नेपाल विविधतायुक्त देश भए पनि त्यतिकै सम्भावना बोकेको मुलुक हो र यसको विकासमा यिनै विविधतायुक्त तत्वहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने सम्भावना रहेको छ भन्ने सकिन्छ ।
(ख) बुद्ध र हिमाल दुवै नेपालका पहिचान हुन् ।
उत्तर:- नेपालका लागि बुद्ध र हिमाल गौरवका विषय हुन् । विश्वमा नेपाललाई कि त बुद्धको देश भनेर चिनिन्छ कि त हिमालको देश भनेर । त्यसैले नेपालका लागि बुद्ध र हिमालको महत्त्व एवम् गरिमा विशिष्ट किसिमको रहेको छ । यी दुई कुराको महत्त्व बुझेर अघि बढ्न सके नेपालको सुदूर भविष्य निकै आशालाग्दो हुने कुरामा विश्वास गर्न सकिन्छ ।
गौतम बुद्ध नेपाल धर्तीमा जन्मेर विश्वमा शान्ति फैलाउने प्रमुख व्यक्तित्व हुन् । उनको दर्शन, विचार वा मान्यताले आजको संसारलाई सजिलै आकर्षित गर्न सक्छ र गरेको पनि छ। उनका विचार र मान्यताहरूलाई संसारभर फैलाउन थाङ्का जस्ता चित्रहरूले पनि सहयोग पुर्याएका छन् । उनी संसारभरका शान्तिप्रेमी मानिसहरूका लागि प्रेरणाका स्रोत र पथप्रदर्शक हुन् । त्यस्तै नेपाल हिमाली मुलुक हो । यहाँ संसारकै सर्वोच्च शिखर सगरमाथाका अतिरिक्त थुप्रै अग्ला हिमालहरू रहेका छन् । सौन्दर्यका खानी र जलस्रोतका मुहानका रूपमा रहेका हिमालले पनि संसारभरका सौन्दर्यप्रेमीहरूलाई आकर्षित गरेको पाइन्छ ।
नेपाल र नेपालीहरूका लागि गौरवका विषय बनेका बुद्ध र हिमालले नेपालको पहिचान गराउन महत्त्वपूर्ण भूमिका खेलेका छन् । अत: देशको गरिमा बढाउन बुद्ध र हिमालको महत्त्वलाई ख्याल गरी अघि बढ्नु आवश्यक छ । यिनै विषयले नेपालको गरिमा बढ्छ र नेपालीहरूको शिर पनि उच्च बनिरहन्छ ।
It make easy for students and teachers .
Thanks sir
THANKS VERY HELPFUL