पाठ-१५ टीका

पाठ-१५

टीका

१) यस एकाङ्कीको शीर्षक टीकाकत्तिको ठिक छ ? तर्कसहित आफ्नो धारणा लेख्नुहोस् ।

उतर:- एकाङ्कीकार भीमनिधि तिवारीद्वारा लिखित ‘टीका’ देशप्रेमको भावनाले ओतप्रोत भएको चर्चित एकाङ्की हो । सांस्कृतिक उत्सवका रूपमा लिइने दसैँको टीका नेपालीहरूका लागि धार्मिक, सांस्कृतिक र आर्थिक महत्त्वको चाड हो । यसै चाडलाई केन्दबिन्दुमा राखेर विषय वस्तु प्रस्तुत गरिएकाले यस एकाङ्कीको शीर्षक ‘टीका’ एकदमै ठिक छ ।

घरको मुख्य पुरुष पात्र कमानसिंह अर्थोपार्जनका लागि विदेश गएको र दसैँको तीका अगावै घर आउन नसकेका बेला एउटा ग्रामीण निम्न आय भएका परिवारको अवस्था कस्तो हुन्छ भन्ने कुरालाई यस एकाङ्कीमा प्रस्तुत गरिएको छ । आमा (आमै) श्रीमती (सुन्तली) र छोरा (कालु) मात्र घरमा छोडेर परदेश गएका कमानसिंहले दसैँको समयमा घर फर्किने विचारले आउँदा आउँदै पनि समयमा आइपुग्न नसक्दा घरको अवस्था अत्यन्त दयनीय बन्न गएको छ । घर घरमा टीकाको रमाइलो, खसी काटेको, टीका लगाएको र पिङ खेलेको रमाइलोको बिचमा कमानसिंहको घर उजाड बनेको छ । नियास्रो मानेर कमानसिंहको आगमनको प्रतीक्षा गरिरहेको दहीमा मुछेका अक्षता र जमरा सुक्दै गइरहेका छन्‌ । दिन ढल्केर रातमा परिणत भइरहेछ । बुढेसकालको एउटै सहारा नआउँदा आमाका मनमा रन्केको उदासी, चिन्तित छोरो र श्रीमतीको मनको नियास्रो मेट्न रातपरि सक्दा टुप्लुक्क आइपुग्छ कमानसिंहको घरमा बिना दियोको बत्ती बल्छ । घरमा खुसीको उज्यालो चम्किन्छ । यसरी आर्थिक पक्षका साथ साथै नेपालीहरूको महान्‌ चाड दसैँको टीकाको सन्दर्भलाई मुख्य विषयवस्तु बनाएर प्रस्तुत गरिएकाले यस एकाङ्कीको शीर्षक एकदमै ठिक छ ।

 

२. तलका प्रश्नको सङ्क्षिप्त उत्तर लेख्नुहोस्‌ :

(क) टीकाएकाङ्कीमा आमा र सुन्तली किन खिन्न मुद्रामा छन्‌ ?

उत्तरः- ‘टीका’ एकाङ्कीमा आमा र सुन्तली परिवारको आशाको केन्द्र परदेशबाट दसैँको टीकाका दिन समयमै घर नआइपुगेकाले खिन्न मुद्रामा छन्‌ । कमानसिंह आफ्नो घरको आर्थिक अवस्था कमजोर भएका कारण पैसा कमाउन परदेशं गएको हुन्छ । परिवारको आशा र भरोसाको केद्र कमानसिंह सधैँ बेलैमा घर आइपुग्थ्यो र दसैँ उत्सवमय बन्थ्यो । यसपालि दसैँको टीकाको दिन दिनभर त के घाम अस्ताएपछि र झमक्क साँझ परुन्जेलसम्म पनि उँ आइपुगेन । सारा गाउँ रोटेपिङ र दशैंको टीकाले उत्यवमय बनेको बेलामा कमानसिंह घर नआउँदा आमा र सुन्तली खिन्न मुद्रामा छन्‌ ।

 

(ख) टीकाएकाड्कीले टीकाको साँस्कृतिक महत्त्वलाई कसरी प्रस्तुत गरेको छ ?

उतर:- ‘टीका’ एकाङ्कीले टीकाको साँस्कृतिक महत्त्वलाई सशक्त रूपमा प्रस्तुत गरेको छ । दसैँ नेपालीहरूको सांस्कृतिक धरोहर हो । यसले परिवारिक मिलन र सामाजिक अन्तर सम्बन्धलाई प्रगाढ बनाउने काम गर्छ । टीका नेपाली सांस्कृतिक जन आस्थाको प्रतीक हो । गरिमामय सांस्कृतिक पृष्ठभूमि भएको नेपालमा दसैँको टीकाको ठुलो महत्त्व छ । यही महत्त्वलाई बुझेका अनि काम विशेषले घर छोडी परदेश गएका नेपालीहरू जस्तोसुकै विषम परिस्थितिमा पनि बुढा/बुढी भइसकेका आमा/बुबाको हातबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका लगाई आशीष थाप्न आ-आफ्नो घर आउने गर्छन्‌ । यस्तो उत्सवमय अवस्थामा परदेश गएका आफन्तहरू घर आइनपुरदा आमैजस्ता धेरै मातृहृदयहरू कमानसिंह जस्ता छोरालाई सम्झेर तड्पिन्छन्‌ । पारिवारिक भेट, आशीर्वाद लिने र उत्सव मनाउने अनि सबैले रमाइलो गरी दु:ख बिर्सने भएकाले ‘टीका’ एकाङ्कीले टीकाको सांस्कृतिक महत्व नेपाली समाजमा उच्च स्थानमा रहेको छ भन्ने कुरालाई प्रस्तुत गरेको छ ।

 

(ग) पैसाका निम्ति विदेश गएका कमानसिंहलाई आमैले के भनेर सम्झाइन्‌ ?

उतर:- ‘टीका’ एकाङ्कीमा आएका प्रमुख पात्र कमानसिंह आफ्नी आमाको अर्ती पाउनुभन्दा पहिले स्वदेशलाई भन्दा धनलाई महत दिन्थे । उनी पैसाकै निम्ति बुढी आमा, आफ्नी पत्नी सुन्तली र छोरो कालुलाई छोडेर परदेश गई मालिकका घरमा काम गर्थे । उनी नेपालमा काम नपाएर होइन, यहाँभन्दा बढी कमाउने उद्देश्यले मुग्लान भासिएका हुन्‌ । ढिलो गरी टीकाका दिन आइपुगेका कमानसिंहलाई आमाले मातृत्वका साथै राष्ट्रियता लफ्रक्कै भिजाइदिन्छिन्‌ र पैसाका निम्ति विदेश गएका आफ्ना छोरालाई पैसाका निम्ति मात्रै काम गर्ने होइन, आफ्नो घरको काम एक गाँस मात्र खाएर भए पनि गर्नु पर्छ । सारा नेपाल आफ्नै घर त हो नि ! एक पाइलो हिँडे पनि आफ्नै भुइँमा हिँड्नु पर्छ । एक थोपा पसिना चुहाए पनि आफ्नै माटाका डल्लामा चुहाउनुपर्छ, आफ्नो घर बनेमा आफूलाई सुख हुन्छ भनेर आमाले सम्झाइन्‌ । आमाले राष्ट्रियताप्रति देखाएको प्रेम कर्तव्यबोध गरी कमानसिंह गाउँमै बस्ने निधो गर्छन्‌ ।

 

(घ) कमानसिंहले किन-बिदेश नजाने निर्णय गरे ?

उतर:- कमानसिंह पैसा कमाउनका निम्ति विदेश गएका थिए । उनीजस्ता कैयौँ नेपाली ग्रामिण युवाहरू आफ्ना बुढी आमा, जवान स्वास्नी र बाँसको मुत्ता जस्ता लाई छोडी प्रत्येक वर्ष दसैँमा आउने भाखा राखेर विदेश जाने गर्छुन्‌ । कमानसिंहले सम्पूर्ण विदेश जाने नेपाली युवाहरूको प्रतिनिधित्व गरेका छन्। उनलाई आमाले पैसाका निम्ति विदेश जानु ठिक होइन, आफ्नै देशमा काम गरे मात्र सबै सुखी हुन सकिन्छ भनेर स्वदेशमै बसि काम गर्न सम्झाएपछि उनमा राष्ट्रियता र स्वदेशप्रतिको कर्तब्यबोध भएपछि उनले विदेश नजाने निधो गरे । यसरी देश परिवारप्रति जिम्मेवारी बोधकै कारण कमानसिंहले विदेश नजाने निधो गरे ।

 

(ङ) टिकाएकाङ्कीले दिने सन्देश के हो ?

उत्तर:- एकाङ्कीकार भीमनिधि तिवारीद्वारा लिखित ‘टिका’ सामाजिक विषय वस्तुमा आधारित तथा सांस्कृतिक पृष्ठभूमिमा संरचित राष्ट्रिय चेतनाको भाव सञ्चार गर्ने एक चर्चित एकाङ्की रचना हो । आर्थिक विपन्नताका कारणले वा स्वदेशमा अपेक्षा गरिए अनुरूप रोजगारीका अवसर उपलब्ध हुन नसकेकाले कैयौँ नेपाली युवाहरू अर्थोपार्जन गरी जीवन सुखमय बनाउने सपना बोकी विदेशतिर जाने गर्छन्‌ । यसबाट मुलुकको युवाशक्ति खेर गइराखेको महसुस एकातिर हुन्छ भने अर्कातिर राष्ट्रको सर्वाङ्गीण विकास र प्रगतिमा बाधा पुगिरहेको छ । राष्ट्र र समुन्ततिका मेरुदण्ड मानिएका युवाहरूको शक्ति खेर जानु कदापि राम्रो होइन्‌ । यस एकाङ्कीमा कमानसिंहलाई सम्पूर्ण विदेश जाने नेपाली युवाहरूको प्रतिनिधि पात्रका रूपमा उभ्याएर आमैका माध्यमबाट कमानसिंहजस्ता युवाहरूमा राष्ट्रिय भावबोध गराउने वा राष्ट्रिय चेतना जगाउने काम गरिएको छ । यसरी यस एकाङ्कीले स्वराष्ट्रप्रति गर्नुपर्ने कर्तव्य बोधको सन्देश दिने काम गरेको छ । कमानसिंह आमाले पैसा कमाउनका निम्ति विदेश जानु ठिक होइन, स्वदेशमै बसेर काम गर्ने र पसिनाबचुहाउने काम गर्नुपर्छ । आफ्नो देश बने मात्र सबै सुखी होइन्छ भन्ने कुरा  सम्झाएपछि कमानसिंह विदेश नजाने निधो गर्छन्‌ । यसरी उनमा स्वदेशप्रतिको कर्तव्य जागृत भएको छ । यसरी स्वदेशप्रतिको कर्तव्य बोधको सन्देश, दिने काम ‘टीका’ एकाङ्कीले गरेको छ ।

 

३) सप्रसङ्ग व्याख्या गर्नुहोस्‌ :

(क) यो सारा नेपाल आफ्नै घर त हो नि ।

उत्तर:- प्रस्तुत सारंगर्भित एवम्‌ भावपूर्ण अभिव्यक्त एकाङ्कीकार भीमनिधि तिवारीद्वारा लिखित ‘टीका’ नामक एकाङ्कीबाट उद्धरण गरिएको हो । तिवारीले नाटक, एकाङ्की, कथा, कबिता आदि विधाहरूमा कलम चलाएका छन्‌ । यिनले सामाजिक, पौराणिक, ऐतिहासिक विषय वस्तुमा आधारित थुप्रै नाट्यकृतिहरूको सिर्जना गरेका छन्‌ । यिनका नाटकमा सामाजिक जागरणका साथै देशप्रेमको भावनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको हुन्छ । पैसाका निम्ति परदेश गई ढिलो गरी दसैँको टीकाका दिन घर फर्किएको छोरो कमानसिंहलाई आमाले स्वदेशमै बसी काम गर्न सम्झाउने क्रममा उक्त अभिव्यक्तिलाई एकाङ्कीकारले प्रस्तुत गरेका हुन्‌ ।

आमैका अनुसार पैसाका निम्ति मात्र काम गर्नु हुन्न, पैसालाई महत्त्व दिने हो भने स्वदेशको उन्नति हुन्न । आफ्नो घरको काम हामी एक गाँस खाएर पनि गर्छौँ । पेटभरि खान नपाए पनि त्यसबेला हामीलाई सन्तोष लाग्छ | हामीले काम गर्दा सारा नेपालीलाई आफ्नै घर सम्झनुपर्छ । घरको काम गर्दा पैसा कमाउने उद्देश्यले गरिन्न । घरको काम निस्वार्थ गरिन्छ । स्वदेशलाई वा आफ्नो जन्मभूमि नेपाललाई निस्वार्थ भएर सेवा गरे मात्र देशको प्रगति र उन्नति सम्भव छ पैसा पैसाका निम्ति विदेश जाने र आफ्नो  देशलाई वेवास्ता गर्ने हो भने कसैले सुख पाउँदैन । अत: नेपालीले आफ्नै घर सम्झेर देसको उन्नति र प्रगतिका निम्ति समर्पित हुनु आवश्यक छ ।

यसरी देशप्रेम र राष्ट्रिय बोधको- भावलाई एकाङ्कीकारले बुढी आमैका माध्यमबाट प्रस्तुत गरेका छन्‌ । ठेट नेपाली शब्दहरूको संयोजन र वाक्यात्मक स्तरमा प्रस्तुत गरिएको यस अभिव्यक्तिमा राष्ट्रप्रेमको भाव प्रभावकारी बन्न गएको छ । भावगत सघनता, अभिव्यक्तिगत सरलता अनि व्यञ्जनामूलक कथनका कारण राष्ट्रप्रेमको भाव सशक्त बनेको छ।

 

(ख) एक पाइलो हिँडे पनि आफ्नै भुइँमा हिँड्नुपर्छ, एक थोपा पसिना चुहाए पनि आफ्नै माटाका डल्लामा चुहाउनुपर्छ ।

उतर:- माथिको भावपूर्ण सारगर्भित भनाइ एकाङ्कीकार भीमनिधि तिवारी (१९६८-२०३०) द्वारा लिखित ‘टीका’ शीर्षकको एकाङ्कीबाट उद्धरण गरिएको हो । तिवारी एक बहुमुखी प्रतिभा हुन्‌ । यिनले कथा, कविता र नाटकका क्षेत्रमा ठुलो योगदान पुर्याएका हुन्‌ । सामाजिक, पौराणिक तथा ऐतिहासिक विषय वस्तु ग्रहण गरी साहित्य सिर्जता गर्ने तिवारीका नाटक तथा एकाङ्कीमा देशप्रेम, संस्कृति प्रेमका साथै राष्ट्रियताको भावलाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको हुन्छ । बुढी आमा, जवान श्रीमती र सानो छोरालाई घरमा छोडी परदेश गएका कमानसिंह दसैँको टीकाका दिन राति मात्र घर आइपुग्दा दिक्क मानेकी आमाले पैसाका लागि विदेश नजान सम्झाउने क्रममा माथिको अंश प्रस्तुत गरेको छ ।

आफू जन्मेको भूमि सबैलाई प्यारो लाग्छ । पैसालाई महत्त्व दिएर परदेश गए पनि र त्यहाँ स्वदेशमा भन्दा बढ्ता पैसा कमाउन सकिए पनि मानिसलाई सन्तोष हुँदैन । आफ्नै देशको हावापानी, ढुङ्गो, माटो र संस्कृति, चाडबाड अनि मेला पात नै हामी नेपालीहरूका लागि प्रिय हुन्छन्‌ । उक्त अंशमा कमानसिंहकी आमाले आफ्नै देशमा बसी श्रम गर्न र आनन्दको जीवन बाँच्न छोरालाई सम्झाउँछिन्‌ । उनका अनुसार एक पाइलो हिँडे पनि आफ्नै भुइँमा हिँड्नुपर्छ । आफ्नो भुइँ सबैको प्यारो हुने भएकाले केही काम गर्नुपर्यो भने पनि यहीँ पसिना बगाउन उत्तम मानिन्छ । विदेशमा बगाएको पसिना त्यसै खेर जान्छ भने स्वदेशमा बगाएको पसिना खेर जाँदैन । त्यसैले आफ्नो एक थोपा पसिना चुहाए पनि आफ्नै माटाका डल्लामा चुहाउन कमानसिंहलाई सम्झाउँछिन्‌ । आफ्नो घर बने मात्र आफूलाई सुख हुन्छ भन्दै आमा स्वदेशको उन्नति र प्रगतिबाट मात्र सुख पाइने कुरा गर्छिन्‌ ।

राष्ट्रियताको भावलाई सशक्त रूपमा प्रस्तुत गरिएको माथिको अंशमा मिठो र आकर्षक भाषाशैलीको प्रयोग गरिएको छ । सरलता, भावगत गहनता अनि देशप्रेमको भावले ओत प्रोत माथिको अंशमा स्वदेशप्रतिको समर्पण र त्यागको भावलाई सशक्त रूपमा प्रस्तुत गरिएको छ । यहाँ जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी, को भाव अभिव्यक्त भएको चाहन्छ ।

 

(ग) दस लोटा पानी अटाएको गाग्रोमा एक मुठी बढी कसो नअटाउला त ?

उतर:- माथि दिइएको भावपूर्ण एवम्‌ सारगर्भित अभिव्यक्ति एकाङ्कीकार भीमनिधि तिवारी (१९६८-२०३०) द्वारा लिखित ‘टीका’ नामक एकाङ्कीबाट उद्धरण, गरिएको छ । बहुमुखी प्रतिभाका धनी तिवारीले आधुनिक नेपाली साहित्यका क्षेत्रमा ठुलो योगदान दिएका छन्‌ । कथा, कविता र नाटक विधाका माध्यमबाट उनले देशप्रेम, सामाजिक जागरण र राष्ट्रियताको भावनालाई सशक्त रूपमा प्रस्तुत गरेका छन्‌ । आमाले स्वदेशमै बसी श्रम गर्न र देशोन्नतिमा लाग्न सम्झाएपछि कमानसिंहले बिदेश नजाने निधो गर्दै उक्त अंश प्रस्तुत गरेका हुन्‌ ।

सकारात्मक सोच भएका कमानसिंह पैसाका निम्ति विदेश गएका हुन्‌ । घरको एकमात्र सहाराका रूपमा देखिएका कमानसिंह दसैँको टीकाको दिन राति अबेला घर आउँदा उदास बनिसकेको परिवारमा खुसियाली भित्रिए पनि आमालाई चित्त बुझेको हुन्न । फलत:उनले परदेश नजान र स्वदेशमै बसी श्रम गर्न सम्झाएपछि छोरा कमानसिंह वृद्ध उमेरकी आमा, उमेरदार जहान र बालक छोराको निम्ति केही कमाइएला कि भनेर परदेश गए पनि अन्त्यमा नजाने निधो गर्छन्‌ । उनी उदाहरण स्वरूप दस लोटा पानी अटाएको गाग्रोमा एक लोटा कसो नअटाउला भन्दै आफू आफ्नै देशमा बस्ने र यही श्रम गर्ने निष्कर्षमा पुग्दछन् । यहाँ गाग्रो लाई देशका रुपमा एक लोटा पानीलाई आफूमा आरोपित गर्दै एक लोटा अटाउने गाग्रोमा एक लोटा पानी पक्कै पनि अटाउन सक्छ भन्दै स्वदेशमै बसेर देशोन्ततिमा लाग्ने अठोट गर्छन्‌ ।

कमानसिंहमा स्वेदेशप्रतिको ममता जागेको छ । पैसाका निम्ति परदेश जानुको सद्टा स्वदेशमै बसेर देशोन्ततिमा लाग्ने उनको चाहना प्रशंसनीय छ । पैसाका पछि दौडने र स्वदेशलाई महत्त्व नदिने आजका युवा पुस्ताका निम्ति स्वदेशमै बसेर पनि आयआर्जन गर्न सकिने उदाहरण कमानसिंह बनेका छन् । अत: यहाँ भिठो र आकर्षक भाषाशैलीका माध्यमबाट स्वदेशप्रेमको  भावलाई सशक्त रूपमा प्रस्तुत गरिएको पाइन्छ ।

 

(घ) एक पाइलो हिँडे पनि आफ्नै भुइँमा हिँड्नुपर्छ भनी नाटककार आमैलाई भनाउँछन्‌, के उसो भए हामीले नेपालबाहिर खुट्टै नहाल्नु भन्ने नाटककारको भनाइ हो त ?तार्किक उत्तर दिनुहोस्‌ । 

उतर:- एक पाइलो हिँडै पनि आफ्नै भुइँमा हिँड्नुपर्छ भन्ने भनाइ आमैका मुखबाट नाटककारले आफ्नो विचार प्रवाहित गरेका छन्‌ । उनको आशय हामीले नेपाल बाहिरखुट्टै नहाल्ने भन्ने पक्कै होइन । कमानसिंह जस्ता युवाले परदेशमा गएर गरेको श्रम त्यसै खेर गइरहेको छ । त्यस्तो श्रमलाई स्वदेशमै लगाउनुपर्छ । युवाहरूको मेहनत र उर्जाले मात्र स्वदेशको मुहार हँसाउन सकिन्छ । युवाहरू पैसाका निम्ति अर्काको देश जाने र उनीहरूले स्वदेशलाई वेवास्ता गर्ने हो भने हाम्रो जीवनमा कहिल्यै सुखको दिन आउँदैनन्‌ । अत: नाटककारको भनाइ अनुसार हामीले नेपाल बाहिर खुट्टै नहाल्ने भन्ने पक्कै होइन । आजको भूमण्डीकरणको युगमा स्वदेशबाहिर नगई काम चल्दैन । तर बाहिरलाई महत्त्व दिनुको सट्टा स्वदेशको उन्नति र प्रगतिलाई ख्याल गरी युवा पुस्ताले पाइला चाल्नु आवश्यक छ भन्ने नाटककारको आशय हो।

 

(ङ) युवाहरु आफ्नै देशमा बसेर काम गर्नुपर्छभन्ने विषयमा एउटा संवाद तयार गर्नुहोस्‌ ।

उतर:- (पुजा  र खुसी स्कुलबाट घर फर्कदै गर्दा बाटामा उनीहरूका बिच यस्तो कुराकानी हन्छ ।)

पुजा     : ए खुसी, तिमी पढाइ सकेर के गर्छौं ?

खुसी     : म त विदेशमा जाने हो, तिमी चाहिँ के गर्छौं नि?

पुजा     : म त कतै जान्नँ, बुझिस्‌ । आफ्नै देशमा बसेर देशको सेवा गर्ने हो ।

खुसी     : नापिस्‌, देशमा बसेर के काम पाउँछस्‌ । खेती गर्छस्‌ भने खेत छैन व्यवसाय गर्छस्‌ भने तँसँग पैसा छैन । अनि त के काम गर्छस्‌ ?

पुजा     : मनमा इच्छा हुनुपर्छ । जहाँ इच्छा त्यहाँ उपाय । इच्छा गरेपछि त भइहाल्छ नि । अनि विदेश जान चाहिँ पैसाबिना हुन्छ कि क्या हो?

खुसी     : हो त, विदेश जान पनि पैसा चाहिन्छ हो कि ?

पुजा     : पैसा नभई कहाँ जान पाइन्छ त ! बरु आफ्नै देशमा बसेर सानोतिनो काम गरियो भने केही दुःख पाए पनि आनन्द हुन्छ । तिमीलाई थाहै छ, पैसाका निम्ति विदेश गएका युवाहरूले कति दुःख पाएर रित्तो हात फर्कनु परेको छ ।

खुसी     : त्यसो त हो है । तिमीले भनेको पनि मलाई राम्रै लाग्यो । भन त पढाइ सकेर के गरौँ त?

पुजा     : पढाइ सकेर एउटा घरेलु उद्योग खोलौँ । यसका लागि सरकारले सहुलियत दरमा पैसा दिन्छ । त्यसको सदुपयोग गरेर इमानदारिताका साथ काम गर्यौँ भने विदेशमा जानै पर्दैन नि ।

खुसी     : ल त्यसै गरौँ । दुवैले सल्लाह गरेर काम सुरु गरौँ है त ।

पुजा     : हुन्छ किन नहुनु नि ।

 

 

४) टिकाएकाङ्की पढेपछि आफ्ना छोराछोरीलाई कामका लागि विदेश पठाउन हुरुक्कै हुने बाबा आमालाई तपाईँ के सल्लाह दिन चाहनुहुन्छ ?

उतर:- ‘टिका’ एकाङ्की पढेपछि आफ्ना छोराछोरीलाई कामका लागि विदेश पठाउन हुरुक्कै हुने बाबा आमालाई म आफ्ना छोराछोरीलाई विदेश पठाएर तडपीतडपी बस्नुभन्दा स्वदेशमै उद्योगधन्दा सञ्चालन गर्न वा अरू कुनै व्यवसाय गरी जीवन निर्वाह गर्नु श्रेयस्कर हुन्छ भन्ने सल्लाह दिन्छु । विदेशमा आफ्ना छोराछोरी पठाउँदा के-के न होला भन्ने आशा पाल्नेहरू निराश भएका उदाहरण थुप्रै देखिएका छन्‌ । विदेश पठाउँदा हुरुक्क भएर पठाउने तर त्यहाँ गएर अपाङ्ग हुने, ज्यानै जाने वा काम नपाएर तड्पिनु पर्ने अवस्था सिर्जना हुनुभन्दा आफ्ना परिवारसँग बसेर आफ्ना चाडपर्वहरूमा रमाउँदै जीवन बिताउँदा मान्छेले धेरै नै सुख र सन्तोषको अनुभूति गर्छ । त्यसैले म आफ्ना छोराछोरीलाई कामका लागि विदेश पठाउन हुरुक्कै हुने बाबा आमालाई विदेश पठाउँदाका परिणाम विचार गरेर मात्र आफ्ना छोराछोरीलाई विदेश पठाउन सल्लाह दिन्छु ।

 

(५) आफ्ना वृद्ध बुबाआमालाई वृद्धाश्रममा लैजाने तयारी गरिरहेका छोरा बुहारी र वृद्धवृद्धाको सेवा गर्नु सबैको कर्तव्य हो भन्दै वृद्धाश्रममा नपठाउन भनी सम्झाउने युवा विद्यार्थीहरूका बिचको संवाद तयार पार्नुहोस्‌ ।

उतर:- (सुमन र रोशन कक्षा १० मा पढ्छन्‌ । आफ्ना छिमेकी मुनाले बुबाआमालाई वृद्धाअश्रममा लैजान तयार गरिरहेको स्कुल जाँदै गर्दा उनीहरूले थाहा पाउँछन्‌ । यसै क्रममा उनीहरूले एकराजलाई सम्भझाउँछन्‌ ।)

सुमन    : ए दाइ, नमस्कार, हामीले तपाईँका बारेमा के-के पो सुन्यौँ त ?

मुना     : होइन, तिमीहरूले मेरा बारेमा त्यस्तो के सुन्यौ ? तुरुन्त भनिहाल ।

रोशन   : तपाईंले आफ्ना बुबाआमालाई वृद्धाश्रममा लैजाँदै हुनु हुन्छ रे?

सुमन    : हो, मैले पनि तल्लाघरे कान्छीआमाका मुखबाट त्यही सुनेँ । सत्य कुरा के हो दाइ ?

मुना     : त्यस्तो केही होइन । तर …….।

रोशन   : तर के दाइ साँचो साँचो भन्नुहोस्‌,

मुना     : हामीलाई अलि फुर्सद भएन क्या ।

सुमन    : ऐ, त्यसो पो । तपाईँलाई फुर्सद भएन भनेर वुद्ध आमा बुबालाई वृद्धाश्रममा लगेर थन्क्याउने?

रोशन   : तपाईँ त कस्तो मान्छे हँ ?

मुना     : हैन; तिमीहरूले के भन्न खोजेका हौं.? मेरो समस्या तिमीहरूलाई के थाहा ?

सुमन    : राम्ररी थाहा छ दाइ, थाहा छ।

रोशन   : हो दाइ, तपाईँले यदि बुबा आमालाई वृद्धाश्रममा लगेर थन्क्याउनै लाग्नु भएको हो भने यो राम्रो भएन ।

मुना     : यो मेरो समस्या हो । मैले आफ्नै समस्याको कारण बुबा आमालाई केही समय वृद्धाश्रममा लगेर राख्ने निधो गरेको हुँ ।

सुमन    : दाइ यो काम तपाईं पटक्कै नगर्नुहोस्‌ । आज तपाईंको बुबाआमा बुढाबुढी हुनु भएको छ । भोलि तपाईँ र भाउजू पनि त बुढाबुढी हुनुहुन्छ नि |

रोशन   : हौ त दाइ वृद्धवृद्धाको सेवा गर्नु हाम्रो कर्तव्य हो । तपाईंहरू नसके हामी पनि सघाऔँला । यस्तो निर्णय फिर्ता लिनुहोस् ।

सुमन    : हो दाइ, तपाईँले आफ्नो निर्णय फिर्ता  लिनुहोस्।

मुना     : मैले पनि रहरले त कहाँ हो ? के गर्नु निकै गाह्रो भयो ।

सुमन    : गाह्रो त पक्कै भयो होला । भोलि तपाईंका बुबाआमाले वृद्धाश्रममा बस्दा दु:ख पाएर बिलौना गर्न थाले भने के गर्नुहुन्छ ?

मुना     : त्यो त हो । तिमीहरूले पनि सहयोग गर्छौं भने त म आफ्नो निर्णय फिर्ता लिइहाल्छ नि ?

रोशन   : हामी सक्दो सहयोग गर्छौ । यो हामी सबैको साझा सवाल हो। यसलाई हामीले कुनै हालतमा अघि बढ्न दिन्नौं ।

सुमन    : हो दाई हामी वचनबद्ध छौं ।

मुना     : ल बाबुहरु तिमिहरुले मेरो आँखा खोलिदियौ । तिनीहरूलाई धन्यवाद छ ।

(सबै आफ्नो बाटो लाग्छन् ।)